काठमाडौं, १ जेठ । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेलले विद्यार्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ ।

लकडाउन अर्थात बन्दाबन्दीले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट संञ्चालनमा ल्याएको छ । विद्यार्थीले रु १५० (कर सहित रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समयसिमा ७ दिनको रहनेछ ।

मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीले ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जिबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् । यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जिबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अभ्ययन गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २० ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ ।