सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ पारित गरेको छ । आज शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ पारित गरेको जनाएको हो । पाठ्यक्रम प्रारुप अनुसार कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । कक्षा ९ र १० मा ५ बटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था भएको छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय व्यवस्था मिलाएइको छ । कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनउपयी शिक्षा गरि ४ विषय अनिवार्य रहने व्यवस्था भएको छ । कक्षा ११ र १२ मा ३ विषय ऐच्छिक रहने व्यवस्था भएको छ ।
यसैगरी नेपाल सरकारको कार्यविभाजन नियमावली अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गठन भएपछि यस मन्त्रालयको र मन्त्रालय अन्तर्गतका केन्द्रिय निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी अस्थाई संगठन संरचना स्वीकृत भएको छ । मन्त्रालयको संरचनाम ७ वटा महाशाखा रहेका छन । पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्र केन्द्रीय निकायको रुपमा रहने गरी मन्त्री परिषदवाट स्वीकृत भएको छ ।
“हामी सबैको प्रण, सार्वजनिक शिक्षाको रुपान्तरण” भन्ने नाराका साथ सार्वजनिक विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तर सुधारको लागि सार्वजनिक विद्यालय सुधार प्रारुप तयार गर्न कार्यदल गठन भई प्रतिवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ । केहि दिनमा सार्वजनिक बिद्यालय सुधार योजना सार्वजनिक गरिने समेत जानकारी छ ।
सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्को बैठक बसी विद्यमान कानुनी व्यवस्थाको समीक्षा गरी प्राविधिक तथा व्यावसायिक शिक्षाको नीतिगत तथा संस्थागत रुपान्तरणको प्रस्ताव तयार पार्न एक कार्यदल निर्माण गरी कार्यसम्पन्न गरिसकेको छ । प्राविधिक शिक्षामा लिइने शुल्क सम्बन्धी व्यवस्था र छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिहरुले निश्चित अवधिसम्म अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा सुझाव दिन गठित दोस्रो कार्यदलले कार्य अघि बढिरहेको छ ।