काठमाडौं । तेह्रौं संस्करणको क्वीक्स ग्रिनल्याण्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ । आगामी भाद्र १४ गतेदेखी भाद्र २२ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । ग्रिनल्याण्ड स्कुलको बास्केटबल कोर्टमा हुने उक्त प्रतियोगितामा कुल ४४ टिम सहभागी हुनेछन् ।

आज विद्यालयमा भएको पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका विषयमा जानकारी दिइएको हो । प्रतियोगितामा छात्रा तर्फ १२ वटा विद्यालय तथा जुनियर र सिनियर छात्रतर्फ १६ विद्यालयविच प्रतिस्पर्धा हुनेछ । नौ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता चार समूहमा विभाजन गरी लिग चरण र नकआउटको आधारमा खेलहरू खेलाइने छन् । समग्रमा ८१ वटा खेलहरू प्रतियोगिता अवधिमा सम्पन्न हुनेछन् । नेपाल बास्केटबल संघको प्राविधिक सहयोग र बास्केटबल संघका मान्यताप्राप्त रेफ्रीहरूले सञ्चालन गर्नेछन् । गतबर्ष सिनियर छात्रतर्फ भ्यालीपब्लिक स्कुल र जुनियरतर्फ आयोजक विद्यालय ग्रिनल्याण्ड स्कुल विजेता रहेका थिए ।

कार्यक्रममा बोल्दै ग्रिनल्याण्ड स्कुलका प्राचार्य तथा प्याब्सन उपत्यका प्रदेशका अध्यक्ष थकिन कुमार गुरूङले खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि भन्ने नाराका साथ प्रतियोगिताले नयाँ प्रतिभाहरू जन्माउने कुरामा विश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय तहदेखि उमेर समूहका खेलकुद व्यवस्थित ढंगले सञ्चालन गर्न सके खेलकुद क्षेत्र विकसित भई देशको नाम र राष्ट्रियता संसारभर फैलाउन सकिने छ । आर्थिक सम्बद्धि सँगसँगै खेलकुद र सस्कारको विकासमा विद्यालय क्षेत्रको अहम भूमिका रहेको छ । यस प्रतियोगिताले खेलप्रतिको रूचि जगाउन र नयाँ प्रतिभा जन्माउने तथा विद्यार्थीको सर्वाङ्गीण विकास गर्न मद्धत पुग्ने छ भन्ने विश्वास रहेको छ ।”

प्रतियोगिताको प्रमुख प्रायोजकको रुपमा सिजी ग्रुपको उत्पादन क्वीक्स चिजबल रहेको छ । आयोजकले प्रतियोगिताको कुल लागत करीब दुई लाख पचास हजार लाग्ने अनुमान गरेको छ ।