काठमाडौं । जर्मनीमा हुन लागेको इन्टरनेशनल कम्फ्रेन्स अन लर्निङ एण्ड कम्युनिटि इनरिचमेन्ट (आइकोलेक) मा सहभागी हुन प्याब्सन उपत्यका प्रदेश सम्मिलित एक टोली जर्मनीतर्फ प्रस्थान गरेको छ । पाँचौ संस्करणको रुपमा संचालन हुने उक्त सम्मेलनमा नेपालबाट सहभागी हुने १५ सदस्यीय टिम आज प्रस्थान गरेको हो ।

प्याब्सन उपत्यका प्रदेश अध्यक्ष थकिन कुमार गुरुङको नेतृत्वमा विभिन्न विद्यालय तथा कलेजका प्रिन्सिपल तथा प्रतिनिधिहरु सम्मेलनमा भाग लिनेछन् । प्रस्थान गरेका अन्य सदस्यहरुमा दिपक बास्तोला, भरत न्यौपाने, अशेष भट्टराई, भेषराज पोखरेल, दिनेश भूषाल, यादव गिरी, राजुराम अधिकारी, विनोद कार्की, रामहरी अधिकारी, कुमार तामाङ, विवेक खत्री, पुरुषोत्तम दाहाल, युवराज थापा र तजेन्दर कुमार थापा रहेका छन् ।

सम्मेलनको पहिलो दिन सिकाइका लागि प्रयोग हुने गोल एक्सन प्लानका विषयमा प्रस्तुतीकरण र समूहगत छलफल हुनेछ । सम्मेलनमा नेपालको प्रतिनिधीहरुको तर्फबाट नेपाली विद्यालयका कार्यक्रमहरुको समेत प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको दोश्रो दिन जर्मनीका दुइवटा प्राविधिक विद्यालयहरु भ्रमणको कार्यक्रम राखिएको छ ।

प्रस्थान गर्नुअघि प्याब्सन उपत्यका प्रदेश अध्यक्ष थकिन कुमार गुरुङले सम्मेलनले अन्तर्राष्ट्रिय रुपमा चलेको शैक्षिक पद्धति र शैलीको साटासाट र प्रयोगमा सहयोग गर्नेे बताउनुभयो । नयाँ आयाम र प्रविधीको प्रयोग गर्दै समयानुकुल परिवर्तनमा सम्मेलनमा छलफल गर्ने हुँदा सिकाइमा परिवर्तनमा गर्न यसले सहयोग गर्ने धारणा उहाँले राख्नुभयो ।

विद्यार्थीको ब्यक्तिगत विकासबाट जीवनभर आत्मनिर्भरताको ढाँचामा केन्द्रित यस बर्षको सम्मेलन अक्टोवर २५ र २६ मा जर्मनीको रोथेनवर्गमा संचालन हुनेछ । यस अघिका ४ वटा संस्करणका सम्मेलनहरु सन् २०१०, २०१२, २०१४ र २०१६ मा सिंगापुरमा भएका थिए ।