काठमाडौँ । नेपाल स्काउट अन्तर्गत सञ्चालित इन्नोभेटिभ ओपन क्रियुले ‘युथ मिट २०१९ ‘कार्यक्रम आयोजना गरेको छ । ललितपुरको ए.भि.एम स्कूलमा आयोजना भएको कार्यक्रममा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लाबाट वोभर रेन्जर स्काउटरहरुका साथै झण्डै एक सय जना युवाले सहभागि भएका थिए ।

नेपाल स्काउट युवाका संस्था भएकाले अव मुलुकभरका सम्पूर्ण युवाहरुलाई स्काउटिङ अभियानमा सहभागि गराई समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार गर्न सहयोग गर्ने नेपाल स्काउट तदर्थ समितिका संयोजक भण्डारीले बताए ।

देशका लागि आवश्यक चरित्रवान् र सक्षम नागरिक निर्माण गर्न स्काउटले अग्रणी भूमिका निर्वाह गरेको र यस अभियानमा इन्नोभेटिभ ओपन क्रियुको विगतदेखि महत्वपूर्ण योगदान भएकोमा आयोजक समूहलाई उनले आभार प्रकट गरे ।

कार्यक्रममा सुरेन्द्र वस्यालले डिजिटल उद्योमशीलता, विश्व गल स्काउट संगठन एशिया प्रशान्त क्षेत्रकी रुपा गौतमले नेतृत्व विकास, मिडियाकर्मी राधाकृष्ण धितालले आत्मपहिचान र नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक पीताम्बर अधिकारीले उद्यम क्षेत्रको वातावरण विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सहभागीहरुको उत्साह र सक्षम सान्दर्भिक कार्यक्रम भएकोले राम्रो सहभागिता भएको र कार्यक्रम सफल भएको आयोजक इन्नोभेटिभ क्रियुका लिडरले बताए ।