उपन्यासकार लैनसिंह बाङ्देल र उनको लंगडाको साथी उपन्यासको विश्लेषण

     

    Thank you for reading this post, don't forget to subscribe!

     डा. कुश्मिला आचार्य

    विषयप्रवेश

    नेपाली साहित्यको इतिहासमा उपन्यासकारका रूपमा परिचित लैनसिंह बाङ्देलको जन्म वि.सं. १९८० मा भएको हो । उपन्यासकार व्यक्तित्वजस्तै चित्रकार व्यक्तित्व पनि उनको अर्काे सिद्धहस्त व्यक्तित्व हो । कुची समाउँदा–समाउँदा थाकेको बेला कलम समाएर आफ्नो अमूल्य समयलाई साहित्य साधनामा लगाउनु, मेरो उद्देश्य हो भन्ने मान्यता राख्ने बाङ्देलले ‘स्पेनको सम्झनामा’ (२०२०) र ‘युरोपको चिठी’ (२०२४) गरी दुइवटा यात्रा संस्मरणात्मक कृति, विश्वका महान कलाकार (२०२०) जीवनी, विश्व कथा सङ्ग्रह (२००२), अनुवाद, प्राचीन नेपाली चित्रकला (२०३४), नेपाली प्रस्तर कलाको इतिहास (२०३५), गरी दुई कलासम्बन्धी कृति, साहित्यमा यथार्थवाद (साहित्यिक लेखन), प्रभात पत्रिकाको सम्पादनमा अतिरिक्त मुलुक बाहिर (२००४), माइतघर (२००६), लंगडाको साथी (२००८) र रेम्ब्रान्ट (२०२३) गरी चारवटा उपन्यास दिएर नेपाली साहित्यलाई ठूलो गुन लगाएका छन् । यसरी कलाका अतिरिक्त साहित्यका विविध क्षेत्रमा कलम चलाएका भए पनि उनी मूलतः कलाकार र उपन्यासकारका रूपमा नै बढी चर्चित बन्न पुगेका छन् ।

    उपन्यासकारिता

                    उपन्यासकारका रूपमा लैनसिंह बाङ्देलले दिएका चारवटै उपन्यास छुट्टाछुट्टै वैशिष्ट्य स्थापित गर्न सफल छन् । सङ्घर्षमय निम्नमध्यम वर्गिय जीवन बाँचेको बाङ्देलले आफ्ना उपन्यासमा पनि यस्तै प्रकारका पात्र र तिनले बाँचेको जीवनको चित्र प्रस्तुत गरेका छन् । उनको प्रथम प्रकाशित उपन्यास मुलुक बाहिरमा उनले आर्थिक समस्याका कारण विदेशिन बाध्य प्रवासी नेपालीहरूले भोगेको जीवन, झेल्नुपरेका समस्या र त्यसभित्र पाइने सहयोग, सद्भावना, दया, माया एवं यदाकदा उब्जने मानवीय आवेगले गर्दा शिकार हुन पुगेका निरीह व्यक्तिको झलक प्रस्तुत गरेका छन् । यसमा युद्धमा परी आफ्ना बाबु आमा गुमाएका, छोरा–पति गुमाएका र त्यस्ता दुःखहरूलाई सहज रूपमा सहेर बसेका सिधासाधा व्यक्ति र बिहान–बेलुकाको छाक छार्नका लागि जीवनसँग सङ्घर्ष गर्ने श्रमजीवी र इमानदार व्यक्तिका न्यूनतम इच्छा–आकांक्षा, सोचाइ र मानसिकतालाई प्रस्तुत गरिएको छ । समाजका न्यून–मध्यमवर्गीय वृत्तभित्र जीवन गुजारा गर्ने व्यक्तिको आर्थिक, सामाजिक एवं साँस्कृतिक पक्षको यथार्थ चित्र उतार्ने काम यस उपन्यासमा भएको छ । दोस्रंो उपन्यास माइतघरमा बाङ्देलले सामाजिक विषयवस्तुको चयन गर्दै मानसिक समवेदना प्रस्तुत गरेका छन् । अन्तर्मुखी व्यक्तित्व हरि र सानीका मानसिकतामा पलाउँदै गएको अव्यक्त प्रेम र सामाजिक मान्यताका कारण मूर्तीकरण हुन नसकेको भाव र सधैभरि आँसु पिएर रोइरहनु परेको विवशताको कारुणिक अभिव्यक्ति माइतघरमा भएको छ । लघु संरचनामा आबद्ध यस उपन्यासमा कलापूर्ण संयोजन भेट्टिन्छ । हरि र सानी आदर्शका अगाडि भावनालाई मार्ने पात्रका रूपमा उपस्थित भएका छन् । विषयगत क्षीणता र पात्रगत न्यूनता बीच पनि यो उपन्यास सफल बन्न पुगेको छ । अर्काे उपन्यास लंगडाको साथीमा मान्छेमा गुम्दै गएको मानवता र अशक्त व्यक्तिले भोग्नु परेको पशुवत जीवनको यथार्थता प्रस्तुत गरिएको छ । विषयगत क्षीणता र पात्रगत न्यूनता यस उपन्यासमा पाइने प्रमुख विशेषता हो । बाङ्देलको चौथो उपन्यास रेम्ब्रान्ट साहित्यभन्दा इतिहासका नजिक देखिन्छ । विश्वका प्रसिद्ध कलाकारका जीवनमा आधारित यस उपन्यासमा उपन्यासकारले आदर्श कलाकारको जीवन प्रस्तुत गरेका छन् । साहित्यिक मूल्यका दृष्टिले यस उपन्यासले अन्य उपन्यासका तुलनामा कम महŒव राख्दछ ।

                    प्रवासमा जन्मेर हुर्केका उपन्यासकार लैनसिंह बाङ्देलले प्रवासी नेपालीको जीवनलाई निकटबाट हेर्ने मौका पाएकाले होला सायद उनका उपन्यासको पृष्ठभूमि प्रवास रहेको छ र प्रवासको चित्र राम्रोसँग झल्केको छ । यदि मैले माथिल्लो श्रेणीको चित्रण गर्न थाले भने त्यो मेरो अनाधिकार चेष्टा मात्र हुनेछ र हुनसक्छ असफल पनि हुनेछ भन्ने मान्यता राख्ने बाङ्देलले आफ्ना उपन्यासमा निम्न मध्यमवर्गीय श्रमजीवी पात्रलाई चयन गर्दै तिनीहरूले बाँचेको कठोर एवं कारुणिक जीवनलाई प्रस्तुत गरेका छन् । उनका उपन्यासमा पात्रहरू कतै आर्थिक अभावका कारण, कतै सामाजिक संरचनाका कारण र कतै सोझोपनका कारण ठूलो विपद् भोग्न बाध्य हुन्छन् र पाठकबाट प्रशस्त सहानुभूति र कारुणिकता प्राप्त गर्दछन् । उपन्यासमा व्यक्त घटनाको तारतम्यता कतै कृत्रिमता र अस्वाभाविकता पाइँदैन । बरू न्यूनमध्यमवर्गीय व्यक्तिले भोग्ने सामाजिक जीवनको यथार्थता र मध्यमवर्गीय सामाजिक जीवनको यथार्थता र मध्यमवर्गीय समाजका व्यक्तिका विवशता र बाध्यताको चित्र उनका उपन्यासमा पाइन्छ । बाङ्देल मूलतः सामाजिक यथार्थवादी उपन्यासकार हुन् र मनोवैज्ञानिकता उनको प्रमुख प्रवृत्ति होइन तथापि पात्रका मानसिकताको सूक्ष्म रेखाङ्कनका दृष्टिले उनी सफल छन् । माइतघरकी र उसका मनमा उद्बुद्ध भाव एवं लंगडाको साथीको लंगडाका मानसिकतामा निगुढ रूपमा रहेका आन्तरिक चाहनाहरू चेतन अवस्थामा पूरा हुन नसकेर सपनाका माध्यमबाट व्यक्त भएका कारण उनका उपन्यासमा फ्रायडको मानसिक स्तर र स्वप्न सिद्धान्तको सूक्ष्मतम झलक पाइन्छ भन्न सकिन्छ । यद्यपि मनोविज्ञानको कसीमा पात्रका यावत् क्रियाकलापको विश्लेषण गर्ने चाहना उनको होइन तथापि सामाजिक समस्याको निरीक्षण र सूक्ष्म दृष्टि दिने काम उनबाट भएको छ ।

                    यथार्थवाद मूलतः पश्चिमी साहित्यको देन हो । यसको सुरुवात १९ औं शताब्दीबाट भएको हो । आत्मगत वा मनोगत वैयक्तिक सत्यका अवधारणाका विपरीत इन्द्रिय प्रत्यक्षमा आधारित बुद्धिग्राह्य वस्तुगत सत्यको दर्शन हो यथार्थवाद । साहित्य र समालोचनाको क्षेत्रमा यथार्थवाद मुख्यतः स्वच्छन्दतावादी र आदर्शवादी धारणाको विपरीत एक अभियान देखापर्छ । वाङ्देलले आदर्शवादी धारणालाई प्रायः छाडेका भए पनि आदर्शवादले स्वीकार्ने प्रकृतिको भावुक चित्रण पक्षलाई आफ्ना उपन्यासमा छाड्न सकेका छैनन् । इन्द्रियजनित एवं बुद्धिग्राह्य वस्तुगत यथार्थलाई यथार्थवादले स्वीकारेझैंं बाङ्देल वस्तुचयन गर्दछन् तापनि त्यसको प्रस्तुतिमा कतै कतै प्रकृतिको वर्णनसँगै बहकिन पुग्छन् । प्रकृति वर्णनका माध्यमबाट भावी सम्भावनाको सूचना उनका उपन्यासमा पाइन्छ । पहिलो खतराको घण्टी प्रकृति जगत्मा बज्छ, प्रलयङ्कारी हाहाकारमा रूपमा अनि मात्र मानव जीवनमा दुर्घटना हुन्छ । यस प्रकारको रोमान्टिक भाव प्रस्तुतिले उपन्यासलाई विशुद्ध यथार्थवादी हुन केही बाधा दिएको भए पनि मूलतः सामाजिक जीवनका न्यून मध्यवृत्तबाट विषय चयन गर्नु, ती विषयलाई यथार्थ रूपमा प्रस्तुत गर्नु, भोगेका र भोग्नु सकिने कठोरतालाई देखाउनु आदिले उनका उपन्यास कारुणिक र यथार्थवादी बन्न पुगेका छन् । औपन्यासिक शिल्पका दृष्टिले बाङ्क्देललाई हेर्दा उनका कुनै पनि उपन्यासमा वस्तु संगठनमा सफल देखिँदैन । केवल अन्वितिका दृष्टिले मात्र समग्रतामा सफल उपन्यासकारका रूपमा प्रस्तुत हुन्छन् ।

    लंगडाको साथीको विवेचना

                    लंगडाको साथी (२००८) लैनसिंह बाङ्देलको रचना एवं प्रकाशनका दृष्टिले तेस्रो औपन्यासिक कृति हो । संरचनात्मक दृष्टिले हेर्दा विभिन्न नौ परिच्छेद र असी पृष्ठमा संरचित यस उपन्यासको आयतनले लघु उपन्यासको स्वरूप प्रस्तुत गर्दछ । कथानकका आयामका दृष्टिले पनि उपन्यास निकै सानो देखिन्छ । क्षीण विषयवस्तुलाई लिएर यसको रचना गरिएको छ । यसको विषय दार्जिलिङ बजारको तलमाथि घस्रेर हिँड्ने लंगडो र उसले भोगेको कारुणिक जीवन र उसका सहाराका रूपमा आएको कुकुर एवं कुकुर र लंगडाका बीचको आत्मीयता हो । लंगडो मानिस पात्र हो, तर ऊ मान्छे भएर पनि मान्छेले मान्छेबाट पाउनु पर्ने सहयोग, सद्भावना र सहानुभूति उसले पाउन सकेको छैन र सायद उसको यस दुःखमा कुकुर मौन समर्थन बन्छ । ऊ पनि कुकुरका लागि आत्मीय साथीका रूपमा देखापर्छ । कुकुर हराउँदा ऊ आफ्नो कुटुम्ब हराएको महसुस गर्छ ।

    (क)    कथानक

                    उपन्यासको कथानक साह्रै क्षीण छ । दार्जिलिङको चोक बजारमा घस्रेर हिँड्ने लंगडाको दिनचर्या नै उपन्यासको केन्द्रीय कथा हो । ऊ शारीरिक दृष्टिले कुरूप छ । उसको कुरूपतालाई देखेर स्कुले केटाहरू उसलाई भुइँभालु भन्दै गिज्याउँछन् । ऊ अरू सबै कुरा सहन गर्न सक्छ, तर आफ्नो शारीरिक कुरूपताप्रतिको उपहास सहन गर्न सक्दैन र त्यसको प्रतिकारमा लौरी प्रहार गर्छ । तर उसको प्रतिकारबाट स्कुले केटाहरू त्रसित नभएर झन् उसको अगाडि आएर भालु हिँडेझैंँ हिँडिदिँदा उसको मानसिकतामा ठूलो चोट पर्न पुग्छ । उपन्यासमा लंगडाका जीवनमा एउटा कुकुर आएको छ र कुकुर उसको जीवनको सबैभन्दा नजिकको साथी बनेको छ । व्यावहारिक रूपबाट कुकुर सुखदुःखको अनन्य मित्र बन्न पुगेको छ अथवा भनौं कुकुर मानवकै रूपमा देखापरेको छ । लंगडाको दुःखसुखलाई कुकुर बुझ्दछ र कुकुरका इच्छा चाहनालाई लंगडाले चिन्दछ । कहीं कतैबाट पाएको दुईचार पैसाले आफू खान्छ र कुकुरलाई समेत खुवाउँछ । यस्तै दुःखका दिनहरू काट्दै गएको लंगडालाई सहयोग र सद्भाव त परै जाओस्, उसले बिरामी हुँदा समेत सभ्य भनाउँदाहरूको अपहेलना र तिरष्कार सहनु पर्दछ । वैशाखीका भरमा घस्रेर हिँडी दशौं जनासँग दाँत ङिच्याउँदै हात जोडी मागेको पैसासमेत एक दिन चोरी भइदिन्छ, भिखमङ्गाको पैसा चोरी भएपछि सिंगो मानव समाजप्रति उसको घृणा जागृत हुन्छ । उता उसको साथी कुकुर हराउँछ र एकैचोटि असह्य चोट उसमाथि थोपरिनु पुग्दछ । ऊ कुकुर कसैका घरमा बाँधिएको सपना देख्छ र उसलाई आफू छुटकारा दिन पुग्छ सपनामा । सभ्य, शिष्ट र भद्र भनाउँदाहरूमा गुम्दै गएको मानवीयताको चित्र उपन्यासमा प्रस्तुत गरिएको छ । प्राकृतिक रूपले पीडित, मानवीयता गुमेका मानव समुदायबाट तिरष्कृत लंगडालाई त्यसमाथि अझ प्राकृतिक प्रकोप थोपरिन पुग्छ र उसको जीवन झन् कारुणिक बन्छ । हुरी, बतास र मुसलधारे पानीमा ओतसमेत पाउन सक्दैन, त्यसको साटो उल्टै चोरको संज्ञा पाएर गलहत्याइनु परेको कारुणिक घटनालाई उपन्यासमा प्रस्तुत गरिएको छ । मरणासन्न अवस्थामा पुगेको लंगडाको जीवनको अन्तिम क्षणमा उसको मित्र आइपुग्छ र अशक्त, बेहोस तथा मृत्युको मुखमा पुगेको लंगडाको दुःखमा दुई थोपा आँसु खसाल्छ । लंगडो प्राणीका रूपमा केवल कुकुर बराबर मात्र देखापर्छ र उसले एकैदिन मात्र पनि मान्छेहरूबाट मानवीय व्यवहार नपाएर जीवन उत्सर्ग गर्छ । उसको मृत्युमा कसैको आँत रसाउँदैन, मात्र कुकुर उसका मृत्युका व्यथाले विह्वल भएर जताततै भौंतारिँदै व्याकुल बन्छ र मर्छ । मृत्युको करिब एकवर्षपछि कुकुर र लंगडाको हाड मसानघाटमा एकै ठाउँमा गाँसिएर रहेको आकस्मिकताको उल्लेखसँगै उपन्यास समाप्त हुन्छ ।

                    यसरी उपन्यासको कथानक आदिदेखि अन्तसम्म नै कारुणिक बन्दै अगाडि बढेर टेङ्गिएको छ । झिनो कथानकलाई औपन्यासिक शिल्पमा बुन्दै उपन्यास अगाडि बढाइएको छ । घटनाको तारतम्यले कथानकप्रतिको उत्सुकता बढ्ने स्थिति कतै छैन, कथा सँगसँगै जुन प्रकारको मर्म लुक्दै र देखिँदै गएको छ, त्यसैले पाठकलाई डो¥याउँदै लग्छ । उपन्यासकारिताभन्दा कलाकारिताले यस उपन्यासमा सकारात्मक भूमिका निर्वाह गरेको छ । सानो कथानक भएर पनि कलाकारले देखाचित्रलाई पेन्टिङ्ग गरेर कला तयार गरेझैंं साह्रै निरसिलो, विनाप्रेमको, क्षीण कथानकमा आफ्नो औपन्यासिक कलाको सिंचन गरी पाठक मनलाई छुनसक्ने बनाइएको छ । मानवीय मर्म र पीडाले सिंगारिएर उपन्यास निकै मर्मान्त बन्न पुगेको छ ।

                    औपन्यासिक शिल्पका दृष्टिले उपन्यासमा सामान्यतया मूल कथा र सहायक कथा हुन्छन् । एवं सहायक कथा मूल कथासँगै अन्वित भएर आएका हुन्छन् । हायक कथाले मूल कथासँग गरेको अन्वितिका आधारमा उपन्यासकारको औपन्यासिक शिल्प क्षमताको प्रदर्शन हुने गर्दछ । तर लंगडाको साथीमा कुनै सहायक कथा छैन र मूल कथा पनि साह्रै झिनो छ । कथानकको समष्टि प्रभावले मात्र पाठकलाई छुने गर्दछ र अन्य पक्षलाई उपन्यासको मर्मले बिर्साइदिन्छ । औपन्यासिक संरचनाको आरम्भ, मध्य र अन्त्यको जुन अन्विति हो त्यस दृष्टिबाट पनि लङ्गडाको साथी पर छ । उपन्यासकारले घटनाको विकासमा औपन्यासिक पद्धतिको अनुशरण नगरेको देखिन्छ । तसर्थ यस दृष्टिबाट उपन्यासको मूल्याङ्कन हुन सक्दैन । यसमा केवल लङ्गडाको दिनचर्या मात्र वर्णन भएकाले र एकै प्रकारको दुःखद जीवन उसले बिताएको हुनाले यसमा अन्विति होइन, समष्टि प्रभाव दिने काम भएको छ । यसरी उपन्यासको क्षीण कथावस्तु, पात्रगत अल्पता, औपन्यासिक शिल्पको अनुशरण नगरिएको भए तापनि समष्टि प्रभावका दृष्टिले उपन्यासले पात्रका जीवनका माध्यमबाट पाठकमा जुन प्रकारको कारुणिकता जन्माउन सकेको छ, त्यस दृष्टिले उपन्यासको कथानक धागोझैंं मसिनो भएर तीब्र संवेदना दिन सफल छ ।

    (ख)    पात्र/चरित्र

                    चरित्रका दृष्टिले लंगडाको साथीलाई हेर्दा यसमा एउटा मानवीय पात्र लंगडो र अर्काे मानवेत्तर पात्र काले कुकुर गरी दुइवटा पात्र मात्र छन् । ऋण चुकाउन कसैका घरमा नोकर बसेको व्यक्ति रुखबाट खसी लंगडो बन्न पुगेको लंगडो नै यस उपन्यासको प्रमुख पात्र हो । शरीर निकम्बा भएपछि दार्जिलिङ्गका चोक, सडक र गल्लीमा हात पसार्दै माग्दै जुठो–रुखो खाएर दिन गुजारा गर्ने लंगडाको व्यक्तित्वमा कुनै उतार चढाव वा थपघट भएको छैन, एकै प्रकारले उसका दिन वितेका छन् । उपन्यासका नायकमा हुनुपर्ने उच्च व्यक्तित्व यस उपन्यासमा छैन, लंगडो एउटा टाइप मात्र हो । उपन्यासका नायकमा हुने स्वतन्त्र र उच्च व्यक्तित्व उसमा छैन, पात्रको महानता र कमजोरी अथवा उत्थान र पतनले उसको व्यक्तित्व, अस्तित्व र वैयक्तिक चरित्र निर्माणमा जुन प्रकारको भूमिका खेल्दछ, त्यस्तो स्थिति पनि लंगडाका कार्यव्यापारमा देखापर्दैन । ऊ खालि टाइप मात्र हो एक वर्गको प्रतिनिधित्व गर्ने । यसले संसारभरका यावत् विपन्न वर्गको प्रतिनिधित्व गर्दछ, बरू एउटा प्रतीकका रूपमा आएको छ– दलित र उपेक्षित वर्गको शिक्षित, प्रबुद्ध र सम्पन्न व्यावहारिक वर्गले मान्छेलाई मान्छे नभनेर पशुसरह व्यवहार गरी जुन प्रकारको उपेक्षित व्यवहार गर्दछन्, त्यसका विरुद्धमा उपन्यासकारले सामाजिक विकृति, विसङ्गति र मानवता गुमेको समाज र व्यक्तिप्रतिको व्यङ्ग्यका लागि उपस्थित गराइएको पात्र हो र यसको उपस्थितिको मुख्य उद्देश्य मानवता र सामाजिक न्याय प्राप्ति हो । तसर्थ उच्च व्यक्तित्व, त्यसको उत्थान र पतन नदेखाई उपन्यासकारले कारुणिकता जन्माउने उद्देश्यले लंगडोलाई उपस्थित गराएकाले उपन्यासको नायकका रूपमा लंगडो प्रस्तुत भएको छ ।

                    उपन्यासमा देखापर्ने अर्काे पात्र कुकुर हो । कुकुर मानवेतर प्राणी हो तापनि उपन्यासकारले उपन्यासमा उसको व्यवहारमा मानवीकरण गरेका छन् । उपन्यासभित्र उसको खासै क्रियाशील भूमिका छैन, तर एक्लो, अनाथ एवं वेसाहारा लंगडो एक्लो अवस्थामा हुँदा उसलाई हरपल सहारा दिने र सहयोग गर्ने पात्रका रूपमा ऊ देखापर्दछ । ऊ मानव भाषा बुझ्ने अमूक पात्रजस्तै देखापर्दछ । लंगडाका सुखदुःखमा साथ दिने, प्रत्येक क्रियाकलापमा सहभागी बन्ने मान्छे साथीका रूपमा कुकुर आएको छ । उसले लंगडालाई मानसिक आश्रय यति दिइरहेको छ कि ऊ नहुँदा लंगडो नियास्रो महसुस गर्दछ भने कुकुर पनि लंगडोबिना आफूलाई एक्लो महसुस गर्दछ । यसरी उपन्यासमा लंगडाको जीवनमा कुकुर प्रवेश गरेर सबैभन्दा नजिकको मित्र बनी निष्कृय, तर महŒवपूर्ण पात्रका रूपमा देखापरेको छ ।

                    पात्र प्रयोगका दृष्टिले उपन्यासकार बाङदेलमा नवीनता देखापर्दछ । उपन्यासमा अपेक्षित बहुल पात्र, नायक नायिका, खलनायक, खलनायिका आदिको संयोजन लंगडाको साथीमा छैन एउटै पात्र लंगडो र मानवेतर पात्र कुकुरको प्रयोगद्वारा सामाजिक विसङ्गति र विडम्बनालाई प्रस्तुत गरिएको छ । मान्छे सामाजिक प्राणी हो, सामाजिक व्यक्तिका सुखदुःखमा सहभागी बनेर एक अर्काका सुखदुःखमा हातेमालो गर्दै अगाडि बढ्नु मान्छेको एउटा परिचय पनि हो, तर यस प्रकारको व्यवहार हराएर निर्दयी, कठोर शुष्क बन्न पुगको मानव हृदयलाई प्रस्तुत गर्नु यस उपन्यासको उद्देश्य भएकाले मान्छेलाई उपस्थित गराएर आजको युगमा यसभन्दा विसंगति र विडम्बना के हुन सक्छ भन्ने चिन्ह उपन्यासले खडा गरेको छ । कुकुरको उपस्थितिद्वारा उपन्यासकारले मान्छेलाई मान्छेको महŒव किन छ र मान्छेको सहारा नपाउँदा कुकुर नै किन नहोस् सहाराको आवश्यकता हुन्छ भन्ने सन्देश दिनका लागि कुकुर पात्रको प्रयोग जीवन्त बन्न पुगेको छ । तसर्थ पात्र प्रयोगमा अल्पता देखिए पनि भाव संप्रेषणका दृष्टिले पात्र प्रयोगमा उपन्यासकार सफल देखिन्छन् ।

    (ग)    अन्य पक्ष

                    लंगडाको साथी उपन्यासले प्रस्तुत गर्ने खोजेको पक्ष मानवतावाद हो । उपन्यासकार बाङ्देल यथार्थवादका नाममा केवल यथार्थकै चित्र मात्र उतार्ने पक्षमा छैनन् । कला कलाका लागि भन्ने पक्षका विपरीत कला जीवनका लागि भन्ने पक्षमा उनी देखिन्छन् । उनी भन्छन्– हामीलाई यो नवीन युगमा गगनचुम्बी महलतिर हैन, बरू युगकालीन झुप्रोतिर हेर्ने बुद्धि आवोस् । हामीलाई ऐयासीको पेटभित्र हैन तर गरीब र माग्ने हतभागीहरूको मनकोठरीभित्र डुल्ने विचार आवोस् । किनभने त्यही नै हामीले मानव आत्माको यथार्थ प्रतिबिम्ब हेर्न सक्छौ । यस भनाइबाट उनले चाहेको यथार्थता यथार्थकै निम्ति मात्र नभएर मानतावका निम्ति उपन्यासकारले समाजमा तिरस्कृत र अपहेलित पात्रलाई छनौट गरी उसले बाँचेको निरीह जीवनलाई प्रस्तुत गरेका छन् । रछ्यानमा गएर सामान बटुली छाप्रो बनाएर आफ्नो मुड ओत्ने लंगडाका सामान चोरी हुनु दश औंला जोरेर मागेको भीख (पैसा) चोरी हुनु जस्ता घटनाका माध्यमबाट मान्छेमा रहेको तुच्छ भावनालाई प्रस्तुत गरिएको छ ।

                    सहानुभाव सम्पन्न विपन्न सबैसँग राख्न सकिन्छ तर उपेक्षितसँगको संवेदना नै बाङ्देलको आग्रह हो । सायद उपन्यासकारले प्रशस्त कारुणिकता जन्माउने अर्थमा लंगडाको प्रयोग गरेका हुनुपर्छ । मानवता सिद्धान्त, नारा र दशृनमा मात्र होइन, व्यवहारमा प्रस्तुत हुनुपर्ने कुरा हो । व्यावहारिक दृष्टिले हेर्दा जति जति आर्थिक सम्पन्नता बढ्दै जान्छ, मानवता उति उति हराउँदै जाने गरेको स्थिति यत्रतत्र देखापर्दछ । हरिपहरूमै लंगडाले मानवता जीवित पायो, दरिद्रतादेखि उँभो उक्ेकाहरू मानवताका भूमिदेखि विलग पनि भएका छन् भन्ने इन्द्रबहादुर राईको भनाइसँग हामी सहमत हुन सक्दछौं किनकि भलाद्मी, किराना पसलको साहू गगल्स र अंग्रेजी पोशाक एवं लिपिष्टक लगाउने केटाकेटीबाट सहानुभूतिको सट्टा तिरष्कार र घृणासिवाय उसले केही पाएन, अग्लो जुँगेबाट गुडुल्क्याइ मात्र पायो । बरू दुई चार आना उसले टन्न मातेको बूढो ड्राइभरबाट र मृत्युमा दुईचार थोपा आँसु कुकुरबाट पायो । मान्छेमा मानताव गुमेपछि मान्छे अन्धो बन्न पुग्छ, यथार्थमा लंगडो मान्छे नै हो, तर ऊ मानव भएर कहिल्यै बाँच्न पाएन, सधैं उपेक्षित र तिरष्कृत जीवन मात्र बाँच्यो । त्यो लंगडो मान्छे– मान्छे जस्तो भएको हुनाले मात्र तेसलाई मान्छे भनेको हो, अरू थोक भन्न हुने भए मानिस निर्धक्क त्यसलाई अर्कै थोक भन्थे भन्ने सूर्यविक्रम ज्ञवालीको भनाइ यहाँ सान्दर्भिक देखिन्छ । किनकि उसले बाँचेको वास्तविकता जीवन मानवीय जीवनजस्तो छैन ।

                    लंगडाको साथी उपन्यास सामाजिक विकृति र विसङ्गतिको राम्रो नमुना हो । चर्काे व्यापारीकरण र अर्थमुखी बन्दै गएको मानवीय मनोवृत्तिप्रति व्यङ्ग्य यस उपन्यासमा गरिएको छ । केही प्राप्तिका लागि केही गरिनु व्यापारिक धारणा हो । कसैबाट केही सहयोगको अपेक्षा राखेर केही सहयोग गर्नु व्यापारिक मनोवृत्ति हो । मानवतावाद यसको ठीक विपरीत ध्रुवमा उभिन्छ । मान्छेभित्र झ्याङ्गिएर रहेको व्यापारिक धारणाले गर्दा दार्जिलिङ्गका चोक बजारमा व्यापार गरी बस्नेबाट लंगडाले केही सहयोग प्राप्त गर्न सक्दैन– कारण उसबाट उनीहरूले केही पाउने आशा छैन । उसबाट केही पाउने सम्भावना छैन, उसलाई केही सहयोग गर्दैनन् । विवश जीवन र दयनीय अवस्थामा लंगडाले कुकुरको सहयोग र प्रेम प्राप्त गर्नुबाट आडम्बरी मनुष्य समाजमाथि प्रहार गर्न खोजेको प्रष्ट हुन्छ । हाम्रो समाजमा र व्यक्ति मानसिकतामा विकसित हुँदै गएको यस मनोवृत्तिले हाम्रा नियम, व्यवहार, मानवीय मूल्य सबैमा व्यापारीकरण भएको छ भन्दै उपन्यासकारले उपन्यासका माध्यमबाट मानवीय भावनाको विकासको खाँचो कुरा बताएका छन् ।

                    विश्वभरि गुञ्जिने मानवतावादको चर्काे नाराको कुनै अर्थ नभएको विश्वपरिवेशतर्फ पनि लंगडाको साथी उपन्यासकारले साङ्केतिक व्यङ्ग्य प्रहार गरेको छ । रछानमा बस्ने र भिख मागेर खाने निरीह लंगडालाई सहयोग गर्न त कता हो कता उसका सामान चोर्ने र उल्टै उसलाई चोरको आरोप लगाएर गलहत्याउनुले आजको मान्छे कति तुच्छ र निकृष्ट बन्दै गएको छ भन्ने राष्ट्रियताका सीमाभित्र मात्र नरही अन्तर्राष्ट्रिय समस्या समाधानका लागि संयुक्त राष्ट्र संघ, मानव अधिकार संघजस्ता विश्व संघसंस्थाहरूको कुनै अर्थ नरहेको पक्षतर्फ व्यङ्ग्य गरेको छ । जब आफ्ना चोक चोक र गल्ली गल्लीमा समस्यामा राष्ट्र मौन छ भने विश्वशान्ति, विश्वमानवता र विश्वभ्रातृत्वको दुहाइ दिनु आफैंमा हास्यास्पद कुरा हो भन्ने साङ्केतिक व्यङ्ग्य उपन्यासमा ध्वनित हुन्छ । वैज्ञानिक उन्नति र विकासका नाममा मान्छे पृथ्वी छाडेर चन्द्रयात्रा गर्न थालिसक्यो, ग्रह ग्रहको वैज्ञानिक अध्ययन गर्न लागिसक्यो, तर आफ्ना चोक चोक र गल्लीगल्लीमा रहेका समस्याप्रति मान्छेले चियाउने गरेको छैन भन्दै आज विश्व र आजका मान्छे विकास र उन्नतिका नाममा अन्धो बन्न पुगेको तथ्यलाई सङ्केत गरिएको छ । यसरी उपन्यासकारले यस उपन्यासमा लंगडो र उसले भोग्नु परेको नियतिका माध्यमबाट सामाजिक न्याय, मानवीय न्याय, आर्थिक न्याय, विश्वमानवता र व्यापारिक सभ्यताप्रति तीखो व्यङ्ग्य गरेका छन् ।

                    बाङ्देलको औपन्यासिक कला नवीन प्रकारको छ । सामाजिक विकृति र गिर्दाे मानवतावालाई प्रस्तुत गर्ने अस्त्रका रूपमा कारुणिकतालाई प्रयोग गरेका छन् । औपन्यासिक संरचना, कथावस्तु, पात्रयोजना आदिको संयोजनका दृष्टिले औपन्यासिक कृतिको स्थान लिन नसक्ला जस्तो लंगडाको साथी उपन्यासमा व्यक्त कारुणिकताले यसलाई सफल उपन्यासका कोटिमा उभ्याएको छ । कारुणिक सन्दर्भमा यसमा प्रमुख पक्षका रूपमा आएको छ । लंगडाको मृत्यु उपन्यासको अन्त्यमा भएर पनि उपन्यास दुःखान्त बन्न पुगेको छैन । उदात्त चरित्रको जानाजान वा अन्जानमा चारित्रिक कमजोरीका कारण पतनमा दुःखान्तको जन्म हुन्छ भन्ने अरिष्टोटलको दुःखान्त संगठनलाई यसको स्वीकारेको छैन, किनकि चारित्रिक उदात्ततायुक्त पात्र लंगडो होइन, त्रास र करुणा दुवैको उद्रेक पनि यसमा छैन । खाली करुणा मात्र छ । पानीमा कुटिनु, भिरबाट धकेल्दिनु, कुकुर हराउनु, पेट पाल्न मुस्किल हुनु आदि दुःखान्तका पक्ष हुन्, तर यी दुःखान्तकै प्रस्तुतिका लागि मात्र नभएर कारुणिकता जन्माउन आएका सन्दर्भ हुन् । लंगडाले त्यति महान् कार्य केही गरेको पनि छैन, ऊ त एउटा संवेदनशील र नियतिले आक्रान्त हठभागी पात्र हो । तरै पनि उसका माध्यमबाट मानवीय मानोभावलाई कोट्याउने र उक्साउने काम भएको छ । म अहिले संसारको भारले, मानव अत्याचारले कसरी थिचिएको छु, …. अब यो संसारदेखि जति चाँडो बिदा लिन सकूँला उति मेरो निम्ति राम्रो छ … जीवनको यो ठूलो यातना र कष्टबाट त म सधैंका निम्ति मुक्त हुन सक्नेछु भन्ने लंगडाको विलाप कति कारुणिक छ ? कसको मन पग्लदैन यस भनाइले ? आँसु चुहाउँदै भनेको लंगडाको यस कथनले पत्थर पग्लला जस्तो लाग्छ, तर मान्छेका नाममा बाँचेका भेषधारी पशुवत मान्छेको आत्मा नपग्लँदा पाठकको संवेदना र सहानुभूति बटुल्न लंगडो अत्यन्त सफल छ । उपन्यासकारको करुणा जन्माउने खालको प्रस्तुति स्वाभाविक मात्र नभएर निकै कारुणिक र उत्तेजनापूर्ण किसिमको छ । उपन्यासमा डर, त्रास र सु¥याइँ नभएर कारुणिकता मात्र छ र त्यो कारुणिकता मान्छेलाई खिन्न तुल्याउने नभएर मान्छेमा मानवीय चेत उमारी मानवीय भाव पैदा गराउने किसिमको छ । अर्काे शब्दमा भन्दा लंगडाको साथी भित्रको कारुणिकता विपत्तिको बीचबाट पनि किनारा पत्ता लगाउने प्रयास भएझैंँ करुणका सन्दर्भबाट मानवीय नियति, सामाजिक संगठन र मानवीय मनोरचनाले उत्पन्न गराएको छ । तसर्थ सफल कारुणिक उपन्यासका रूपमा लंगडाको साथी देखापर्दछ ।

                    लंगडाको साथी मनोवैज्ञानिक उपन्यास होइन तथापि मानसिकताको रेखाङ्कनका दृष्टिले यस उपन्यासले निकै महŒव राख्दछ । पल्लो घरको झ्याल, अनुराधा हुँदै अगाडि बढेको मनोवैज्ञानिक उपन्यास परम्परा जुन स्तरमा पुगेको छ, तिनको जुन स्थान छ, त्यो स्तरमा अवश्य लंगडाको साथी देखापर्दैन । तथापि लंगडाको मानसिकताको सूक्ष्मतम रेखाङ्कनका दृष्टिले यसलाई लिन सकिन्छ । पल्लो घरको झ्याल पूर्व कतै मनोरचनाको अवलोकन गर्ने प्रयास गरिएको छ भने माइतीघर र लंगडाको साथीमा गरिएको छ । त्यसैको विकसित र टड्कारो रूप उत्तरवर्ती उपन्यास हुन् । पात्रका मानसिकताको केस्रा केस्रा केलाउने ध्येय जसरी उत्तरवर्ती मनोवैज्ञानिक उपन्यासकारले आफ्ना उपन्यासमा गरेका छन्, त्यसैको बीज रूप लंगडाको साथीमा पाइन्छ । तसर्थ यसमा मानसिक ग्रन्थीमा उपस्थित जटिलताको विश्लेषण, मनोवैज्ञानिक चिरफार, मनोदशाको अभिव्यञ्जना अवश्य छैन तैपनि सहज मानसिक आकांक्षा, उपेक्षा र आर्थिक सामाजिक विसङ्गतिका चापले द्रवित मनोदशालाई आंकलन गर्ने काम यसमा भएको छ । तसर्थ मानसिकताको चित्रणका क्रममा चुलबुलपना चलमलाएको स्थिति लंगडाको साथीमा छ । लंगडाको भाव विभिन्न परिस्थितिमा मात्र होइन, भावना सन्तुलित रहेकै अवस्थामा पनि प्रकृतिमा विभिन्न भावका झल्का देख्छ । फ्रायडको स्वप्नसिद्धान्तका दृष्टिले लंगडालाई हेर्दा उपन्यास मनोविज्ञानको अझ नजिक जान खोज्छ । फ्रायडको स्वप्न सिद्धान्तका अनुसार स्वप्न स्वप्नचित्र र कला अचेतन मनका अभिव्यक्तिका बाटा हुन् । आफ्नो मासु गिद्धले लुछिरहेको बेला कुकुरको मासु पनि गिद्धले लुछिरहेको देख्छ र उसको अवेचतनमा आफू कुकुरभन्दा पहिला मरुँ भन्ने भावना वा कुकुरप्रतिको अचेतनमा रहेको भावना उसको पहिलो स्वप्नमा व्यक्त भएको छ भने दोस्रो स्वप्नमा उसभित्र राम्रो लगाउने, मीठो खाने र देश देशाटन घुम्ने भावना दमित भएर रहेको थियो भन्ने कुराको उद्बोध हुन्छ । यस दृष्टिले लंगडाको साथी उपन्यास मनोविज्ञानका केही नजिक छ तथापि उपन्यासकारको मूल ध्येयचाहिँ मनोरचनाको सूक्ष्मतम पक्षको केस्रा केस्रा केलाउनु होइन, कारुणिकताको प्रस्तुतिका क्रममा देखापर्ने सूक्ष्मतम मनोरेखाङ्कन मात्र हो ।

                    लंगडाको साथीलाई अतियथार्थवादको प्रयोग भएको उपन्यासका रूपमा लिन सकिन्छ । अतियथार्थवादले स्वप्न, उन्माद, दिवास्वप्न र जादुमय अलौकिक अनुभूतिमा अत्यन्त विश्वास राख्छ अनि तर्क र विवेकलाई नियन्त्रण गर्न चाहन्छ । यस दृष्टिबाट लंगडाको साथीलाई हेर्दा उपन्यासकार बाङ्देलले लंगडाको जीवनको यथार्थतालाई मात्र उतार्ने काम मात्र नगरी उसभित्रका आन्तरिक इच्छा र चाहनालाई पनि स्वप्नका माध्यमबाट अभिव्यक्त गरेर हेर्न चाहेका छन् । नैतिक मूल्य र यान्त्रिक सभ्यताको अस्वीकार अतियथार्थवादको एक अभिलक्षण हो । यस उपन्यासमा सभ्य भनाउँदो शहरी सभ्यताप्रति तीखो व्यङ्ग्य गरिएको छ र त्यसको विरोध लंगडाको जीवनमा व्याप्त दीनहीनताको माध्यमबाट उपन्यासकारले उपन्यासभरि गरेका छन् । उपन्यासको परिमिति गौण भए पनि कुकुर स्केचका माध्यमबाट पशु मनोवैज्ञानिक चिन्तन देखाउन चाहेजस्तो देखिन्छ । एवं यसबाट कथानकमा करुणाद्र्रको गुरुत्व बढ्न गएर अतियथार्थवादी हुन पुगेको देखिन्छ । त्यस्तै गरी गिद्धले सपनामा उसलाई ठुँगेको स्वप्नमा देश देशाटन घुम्ने इच्छा जागेको, पुलिसबाट त्रास उत्पन्न भएको, भलाद्मी भनाउँदाप्रति घृणा जागेको, रक्सीवाज र कोइलामजदुरबाट सहानुभूति प्राप्त भएको आदि घटना र प्रसङ्गले उपन्यासलाई अतियथार्थवादी बन्न सहयोग पु¥याएको छ। कृष्णचन्द्रसिंह प्रधानको विचार छ– “लंगडाको साथी हाम्रोमा अतियथार्थवादको प्रयोग हो, शैलीको अनौठोपनदेखि विचारको विश्रृङ्खलतासम्ममा अतियथार्थवादी प्रभाव देख्न सक्छौ । जीवनको यथार्थको प्रस्तुतिले मात्र अन्र्तचेतनासम्म पुगन नसकिने कुरा अतियथार्थवादले स्वीकार्दछ । अति यथार्थको अर्थ अधियथार्थ हो र यसको हदसम्म पुग्न र यथार्थभन्दामाथि वा भित्रको यथार्थलाई खोतल्न यस उपन्यासमा कतै कतै चेतनप्रवाह पद्धति ९क्तचभबm या ऋयलकअष्यगकलभकक० को प्रयोग गरिएको छ । अनुराधा र कुमारी शोभामा जतिको चेतनाप्रवाहको प्रयोग यसमा छैन तथापि भाव तरङ्गहरू तरङ्गित भएका स्थितिहरू यसमा पनि पाइन्छ, जसले गर्दा यसलाई अतियथार्थवादी उपन्यासका कोटिमा उभ्याउनु सहयोग पु¥याएको छ ।

                    लंगडाको साथी उपन्यासमा उपन्यासकार बाङ्देलले मानवतावादी दृष्टिकोण व्यक्त गरेका छन् । विचार केवल विचारकै रूपमा मात्र प्रस्तुत नगरी तिनलाई जीवनदर्शनका रूपमा प्रस्तुत गर्ने काम यस उपन्यासमा भएको छ । हाम्रा मानवीय मूल्यहरू कसरी दिनानुदिन थिल्थििलिँदै गएका छन्, हाम्रा मनोवृत्तिहरू कसरी कारुणिक हुँदै गएका छन् र हामी कसरी हृदयशून्य हुँदै गइरहेकाछौ भन्ने मानवतावादी स्वरलाई उपन्यासकारले उपन्यासभरि उजागर पार्ने चेष्टा गरेका छन् । मानवीय मूल्य हराएको आधुनिक मान्छेमा हराएको मूल्यको खोजी गर्नु उपन्यासकारको मूल ध्येय रहेको छ र लेखकको जीवनदृष्टि पनि यही हो ।

    (घ)    उपसंहार

                    लंगडाको साथी मूलतः यथार्थवादी उपन्यास हो तापनि यसलाई अतिमानवीय बनाउने प्रयासस्वरूप उपन्यासको वणृनमा कहीं अतिरञ्जनापूर्ण बन्न गएको छ । यथार्थवाद मूलतः आदर्शवाद र स्वच्छन्दतावादका विरुद्ध देखापरेको चिन्तन हो । स्वच्छन्दतावादीहरू भावनामा बढी रमाउने, प्रकृतिको अतिशय वर्णन गर्ने र वस्तुतालाई इन्द्रियजनित बनाउनुभन्दा भावजनित बनाउने कार्यमा बढी रम्ने गर्दछन् । उपन्यासकार बाङ्देलले आफ्नो मुलुक बाहिर उपन्यासमा जस्तै यस उपन्यासमा पनि प्रकृतकिो चित्रण गर्दै प्रकृतिको स्थूल एवं सूक्ष्म दृश्यको सहारा लिएर मानवका दिनचर्या, सम्भावित घटना र कारुणिकता प्रस्तुत गरेका छन् । उपन्यासमा कुकुर र लंगडाको बीचको आत्मीयता देखाउने क्रममा पात्रलाई नै क्रियात्मक रूपमा त्यो व्यवहार प्रदर्शन गर्न लगाउनुको साटो लेखक आफैँ भावुक र आद्र्र बन्दै आदर्शवादी धारणा व्यक्त गर्न पुग्छन् र भन्छन्– त्यो दृश्य जीवनको लामो यात्रामा जान लाग्दा कुनै आफ्नो आत्मीय बन्धुले बिदा मागिरहेको जस्तो थियो । यही कुरा उपन्यासकार स्वयंले नभनी पात्रलाई भन्न लगाएको भए वा सोच्न लगाएको भए आदर्शबाट उपन्यास र उपन्यासकार बन्ने सम्भावना थियो । यसभन्दा पनि आदर्शको चरम नमुना उपन्यासको अन्त्यमा प्रकट हुन्छ । कुकुर र लंगडाको बीचको मित्रता, मानवता गुमेर खोक्रो बनेको सभ्यता आदिले उपन्यासकारको सम्पूर्ण उद्देश्य र जीवनदृष्टि पूरा भइसकेझैंँ लाग्छ तापनि उपन्यासकार अति भावुक र आदर्शवादी बन्दै मृत्युपश्चात् कुकुर र लंगडाको हाड मसानघाटमा एकै ठाउँमा खिप्टएको देखाउँछन् । यो उपन्यासमा केही अस्वभाविकझैंँ देखापर्दछ । यी केही पक्षलाई बिर्सिदिँदा लंगडाको साथी उत्कृष्ट मानवतावादी यथार्थवादी उपन्यास हो ।

                    शिल्प–शैलीका दृष्टिले लंगडाको साथी नेपाली उपन्यास परम्परा नवीन प्रवृत्तिको देखापर्दछ । प्रेम, विवाह, परिवार आदिका सेरोफेरोमा घुमिरहेको लंगडाको साथी पूर्वको नेपाली उपन्यास परम्परालाई पृष्ठभूमिका रूपमा राखेर मुख्यतः समाजको जल्दोबल्दो समस्याका रूपमा रहेको मानवताको अभाव, व्यापारीकरणर यान्त्रिक बन्दै गएको मानव सभ्यतालाई एउटै मात्र लंगडाको जीवनचर्याभित्र उतार्ने चेष्टा गरिएको छ । यो त एउटा माग्ने र उसको साथी स्केच मात्र हो जो मैले क्यानभासमा भन्दा कागतको पत्रहरूमा लेख्दा पूर्ण तस्वीर उतार्न सकेकृो छर यस दृष्टिले उपन्यासकार सफल पनि छन् । कतै मनोरेखाङ्कन, कतै चेतनप्रवाह शैली त कतै अतियथार्थवादी औपन्यासिक प्रविधिको अवलम्बन गर्दै रचना गरिएको यस उपन्यासमा उपन्यासकार बाङ्देल सूक्ष्म संरचनामै बृहत् संरचनागत भाव व्यक्त गर्न सफल भएका छन् । तसर्थ लंगडाको साथी लघु संरचनामा आबद्ध भावप्रवण र सफल उपन्यास हो ।

     

    पाद टिप्पणी

    १.     लैनसिंह बाङ्देल, रेम्ब्राण्ट प्राक्कथन, रत्न पुस्तक भण्डार, प्रथम संस्करण (२०५३) पृ. ६ ।

    २.     उत्तम कुँवर, स्रष्टा र साहित्य, सा.प्र., दोस्रो संस्करण (२०२७), पृ. ९ ।

    ३.     बासुदेव त्रिपाठी, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (भाग २) सा.प्र., तृतीय संस्करण (२०४९), पृ. ४८ ।

    ४.     ऐजन, पृ. ४८ ।

    ५.     हीरामणि शर्मा पौडेल, समालोचनाको बाटोमा, (प्रकाशिका इन्दिरा शर्मा पौडेल) प्र.सं. (२०४१), पृ. ५२ ।

    ६.     लैनसिंह बाङ्देल, लंगडाको साथी, रत्न पुस्तक भण्डार, भोटाहिटी, काठमाडौं, संस्करण (२०४४), पृ. ङ (दुई शब्द)

    ७.     इन्द्रबहादुर राई, नेपाली उपन्यासका आधारहरू, नेपाली साहित्य परिषद् प्रकाशन, दार्जिलिङ्ग प्र.सं. (सन् १९७४), पृ. ८७ ।

    ८.     ऐजन, पृ. ९२ ।

    ९.     लैनसिंह बाङ्देल, ऐजन, पृ. क

    १०.    वासुदेव त्रिपाठी, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (भाग १) सा.प्र. तृतीय संस्करण, (२०४९), पृ. ६५ 

    ११.    लैनसिंह बाङ्देल, लंगडाको साथी, ऐजन, पृ. ६४ ।

    १२.    सिग्मण्ड फ्रायड, मनोविश्लेषण (अनु. देवेन्द्रकुमार वेदालङ्कार, दिल्ली, छै.सं. (ई. १९८०, पृ. ४) ।

    १३.    वासुदेव त्रिपाठी, ऐजन, पृ. ८८ ।

    १४.    डा. मुरारीप्रसाद रेग्मी, मनोविश्लेषणात्मक समालोचना (उपन्यास खण्ड), सा.प्र. प्र.सं. (२०४०), पृ. ६९ ।

    १५.    कृष्णचन्द्रसिंह प्रधान, नेपाली उपन्यास र उपन्यासकार, सा.प्र. दो.सं. (२०३७), पृ. २३२ ।

    १६.    लैनसिंह बाङ्देल, ऐजन, पृ. ७६ ।

    १७.    लैनसिंह बाङ्देल, ऐजन, पृ. घ (दुई शब्द)