असार ७, काठमाडौं । निजी विद्यालयहरुको छाता संस्थाहरु प्याब्सन र एन प्याब्सनले भर्ना गर्न र शुल्क तिर्न अभिभावकसँगहरु आग्रह गरेका छन् । प्याब्सन र एनप्याब्सनले अभिभावकहरुले सामाजिक दुरी कायम हुने गरी विद्यालयमा उपस्थित भई आ–आफ्ना छोरा–छोरीको अभिलेखीकरण गराउन र २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
प्याब्सन अध्यक्ष टिकाराम पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा निजी विद्यालयहरुले राज्यलाई सहयोग गरेको तर राज्यले बजेटमा कुनै पनि राहतका कार्यक्रम नल्याएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा शैक्षिक गुणस्तरसँग कुनै सम्झौता नहुने गरी शिक्षा ऐनमा व्यवस्था भए बमोजिम वर्षमा १९२ दिन पढाईको लक्ष्य प्राप्त गर्न सरोकारवाला निकायसँग समन्वय गर्दै नयाँ शैक्षिक क्यालेण्डर निर्माणका साथै पठन–पाठनलाई प्रविधिको अधिकतम् प्रयोग गरी अनलाईन लगायत टेलिभिजन र रेडियो जस्ता माध्यमबाट निरन्तरता दिदै कोभिड १९ का कारणले अभिभावकवर्गको आर्थिक अवस्थामा पर्न गएको प्रभावको अध्ययन गरी अभिभावकहरुलाई अधिकतम राहत पु¥याउन कटिबद्ध रहेको जनाइएको छ ।
निजी विद्यालयको एक मात्र आर्थिक श्रोत विद्यार्थीहरुबाट प्राप्त हुने शुल्क संकलन हुन नसकेको विषम परिस्थितिमा अभिभावकवर्गको भूमिका अत्यन्तै महत्वपूर्ण हुने हुँदा बाचौं र बचाऔंको मर्मलाई ख्याल गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
अभिभावकहरुबाट सकारात्मक सहयोग प्राप्त नभएमा निजी विद्यालयहरु अत्यन्तै जटिल अवस्थामा पुगि सम्पूर्ण शैक्षिक गतिविधिहरु समेत प्रभावित हुने हुँदा अभिभावकहरुले सामाजिक दुरी कायम हुने गरी विद्यालयमा उपस्थित भई भर्ना गर्न तथा शुल्क तिर्न विज्ञप्तिमा आव्हान गरिएको छ ।