सामुदायिक शिक्षक विद्यालय पुग्नैपर्ने, निजी संस्थालाई सहुलियत ऋणको प्रस्ताव !

www.enewspana.com
इन्यूज संवाददाता, असार २७, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी श्रावणदेखी शिक्षक अनिवार्य विद्यालय पुग्नैपर्ने प्रस्ताव तयार गरेको छ । मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मा पेश गर्ने गरी उक्त प्रस्ताव तयार गरेको हो ।

आज दिउँसो ४ बजे बस्ने भनिएको सीसीएमसीको बैठकमा शिक्षा मन्त्रालयको उक्त प्रस्ताव स्वीकृत भएका विद्यालय खुल्ने बाटो खुल्नेछ ।

जिल्लाबाहिर रहेका शिक्षकलाई विद्यालयमा आउने व्यवस्था गर्न लागि जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गरिने प्रस्तावमा राखिएको छ ।

यस्तै जोखिमको अवस्था नरहेका क्षेत्र र.तथा जोखिम कम भएका क्षेत्रमा स्थानीय तहले मापदण्ड बनाएर सामाजिक दुरी र सुरक्षा सतर्कता सहित विद्यालय सञ्चालन गर्न निर्णय गर्न सक्ने प्रस्ताव राखिएको छ ।

निजी शैक्षिक संस्थाहरुलाई ऋण, व्याजलगायतमा सहुलियत दिन अर्थमन्त्रालयसँग आग्रह गर्ने आदि विषय प्रस्तावमा समेटिएको मन्त्रालय स्रोतले जनाएको छ ।

शिक्षा मन्त्रालयले विद्यार्थीको अभिलेखीकरणका लागि यसअघि नै सूचना जारी गरेपनि विद्यालयहरु क्वारेन्टाइन बनेको र शिक्षकहरु विद्यालयमा नपुगेकोले कार्यान्वयनमा जान सकेको थिएन भने आर्थिक बर्षको अन्त्य आइसक्दा पनि विद्यालय नखुल्नाले आर्थिक हिसाबकिताव मिलान हुन सकेको छैन । उक्त कार्यका लागि समय थप गर्नसमेत प्रस्ताव गरिएको छ ।