एसईईको नतिजा प्रकाशित

इन्यूज संवाददाता, भाद्र १, भक्तपुर ।

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा भर्खरै प्रकाशित गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई) ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग सहमति लिएर परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

परीक्षाको नतिजामा त्रुटी भएमा त्यसलाई सच्याउन परीक्षा नियन्त्रण कार्यालय जानुपर्ने व्यवस्था यसपल्ट हटाइएको छ । विद्यार्थीले नतिजा प्रकाशन भएको ३५ दिनभित्र शिक्षा, विकास तथा समन्वय इकाइले फाराम भर्नुपर्ने र इकाइले नै नतिजा सच्याउने व्यवस्था गरिएको छ ।

यसबर्षको एसईई परीक्षा कोरोना संक्रमण जोखिमका कारण विद्यालयको कक्षा १० को आन्तरिक मुल्याकंनलाई आधार मानी ग्रेड दिइएको र प्रमाणित गर्ने कार्य मात्र राष्ट्रिय परीक्षा बोर्डले गरेको हो ।