रचना : विपेन आदिमा
छन्द : शार्दुलबिक्रीडित
दु:खैले दुनियाँ दुखा’र नबसे देखिन्न दु:खै कवै
के हो त्यो सुख,जिन्दगी त कसरी जानिन्छ दु:खै नभै ?
उज्यालो सुख हो त दु:ख अब अँध्यारो छ मान्नु अनि
संसारै सहजै चलाउन सबै सुस्पष्ट चाहिन्छ नि ।
पैसाले धनले कतै पनि नसोचे शान्ति पाइन्छ कि !
खोज्दैमा सुख फेरि दु:ख सहँदै सिद्धिन्छ यो जिन्दगी
बढ्दै जान्छन दु:ख लौ दिनदिनै संसारको मोहले
अैल्यै दु:ख हटेर जान्छ मनबाटै ज्ञान औं बोधले ।
मानेका छन बुद्धले नि यसरी ‘हो सत्य दु:खै भनी’
के त्यस्तो छ निरोध लौ न यसको गर्ने त जैल्यै पनि ?
संकल्प,स्मृति,जीविका,वचन,कर्मै,दृष्टि – सम्यक् भए
लौ व्यायाम गरे समाधि छ भने सब् दु:ख नासिन्छ रे !
कैल्यै माथि दिँदैन उठ्न सहजै ईर्ष्या अहंकारले
नत्याग्दा यसले डुबिन्छ नरकै थुक्नेछ संसारले
मान्छे देव भनी पुजिन्छ किन हो ? – त्यो मानवै धर्मले
गौतम् बुद्ध र येशु ईश्वर बने सत्ज्ञान सत्कर्मले ।
आतिन्छौ किन हो त दु:ख छ भनी संघर्ष गर्नै छ नि !
घुम्दै आउँछ फेरि दु:ख नभुले हर्षै मिले तापनि
खोज्छौ के सुख जिन्दगी पसलमा यो किन्न पाइन्छ कि !
यो नै सत्य छ बुझ्नु दु:ख सुखको योगै त हो जिन्दगी ।