सिफ्ट प्रणालीबाट विद्यालय खोल्न दिइने

इन्यूज संवाददाता, मंसिर २, काठमाडौं ।

सरकारले आलोपालो सिफ्ट प्रणालीबाट विद्यालय खोल्न दिने निर्णय गरेको छ । कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरूमा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्याढाँचा २०७७’ लागु गरी विद्यालय संचालन गर्ने बाटो खुला गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त कार्याढाँचा जारी गरी स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो । मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२)को पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि, पद्धति र प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचामार्फत अनुमतिसमेत दिएको छ ।

कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन सञ्चालन गर्न गराउन सैद्धान्तिक मन्त्रिपरिषद्को गत असोज २२ को स्वीकृति अनुसार कार्यढाँचा आएको जनाइएको छ ।

उक्त कार्याढाँचाअनुसार जोखिम बढ्ने अवस्थामा विद्यालयले बन्द पठनपाठन बन्द गर्नुपर्ने, विद्यालय सञ्चालन गर्नुपूर्व अघि जनप्रतिनिधि, शिक्षाविद, शिक्षक, प्राध्यापक स्कुलको छाता संगठनका पदाधिकारी, अभिभावक संघले समिक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विद्यालय संचालनको मोडालिटी स्वयं विद्यालयले गरी स्थानीय तहमा प्रस्ताव गर्नुपर्ने कार्यढाँचामा व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here