श्रावण २८, ललितपुर ।
ललितपुर महानगरपालिका–१८, सैंबुले २०७८ सालमा एसइइ परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । महानगरपालिकाको वडा १८ मा स्थायी बासिन्दा रहेका २४ जना एसइइ उत्तिर्णहरुलाई वडाले सम्मान गरेको हो ।
सम्मान समारोहमा वडा अध्यक्ष दामोदर खड्का, सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष खड्काले वडामा रहेका विद्यार्थीहरुको सफल भविष्यका लागि वडाले गर्ने कार्यको एक उदाहरणको रुपमा कार्यक्रम आयोजना गरिउको बताउनुभयो । नेपालमै रहेका उत्कृष्ट शैक्षिक संस्थामा आवद्ध हुँदै नेपाली शिक्षामार्फत नेपालको विकास गर्न सकिने खड्काको भनाई थियो ।
वडाअध्यक्ष खड्काले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यार्थीहरु नजिक भएर उनीहरुको आवश्यकता पूर्ति गर्न वडा कटिबद्ध रहेको बताउनुभयो । उहाँले आर्थिक अभावको वा अन्य कारणबाट पढाई पुरा गर्न नसक्ने अवस्था आए वडाले सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

वडासदस्य गोपाल डंगोलका अनुसार शिक्षाको विकासलाई ध्यान दिएर वडाले शैक्षिक विकास कोष स्थापना गरी कार्य गर्न लागिएको हो । वडामा स्थायी बासिन्दा रहेका विद्यार्थीको तथ्यांक संकलन गर्न पनि यस्ता कार्यक्रमले सहयोग गर्ने डंगोलको भनाई थियो ।
कार्यक्रममा बालकुमारी आधारभुत विद्यालयका प्रधानअध्यापक कृष्णहरी थापा तथा शिक्षा पत्रकार सञ्जालका पूर्व अध्यक्ष ईश्वरराज ढकालले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा सम्मानित विद्यार्थीहरुलाई सल र बुद्धको प्रतिमा प्रदान गरिएको थियो ।
