योङ पिकासोको प्रस्तुती तथा सहयात्राको आयोजनामा ४ दिने कलाप्रदर्शनी “द इसेन्स अफ कलर” प्रदर्शनी गरिएको छ । काठमाडौं उपत्यकाभित्रका ६ वटा विद्यालयका ३० विद्यार्थीहरुको चित्र समेटिएको उक्त प्रदर्शनी पाटन संग्रहालयमा आयोजना गरिएको हो ।
कार्तिक १६ गतेदेखी १९ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा काठमाडौंको व्हाइटहाउस स्कुल तथा कौटिल्य स्कुल, भक्तपुरको सिद्धार्थ विद्यापिठ र ललितपुरको ब्लु वर्ड स्कुल, क्षितिज स्कुल तथा एभिएस स्कुलका विद्यार्थीहरुले सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वरिष्ठ चित्रकार किरण मानन्धरले गर्नुभएको हो । दुवैजनाले चित्र कोरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै उपप्रमुख डंगोलले विद्यार्थीहरुले सानैदेखि आफ्नो प्रतिभा प्रदर्शनी राख्न पाउनु आफैंमा महत्वपूर्ण रहेको बताउनुभयो । बालबालिकाहरुमा कला क्षमता लुकेर बसेको हुने हुनाले विभिन्न शैली अपनाएर उक्त कला क्षमता बाहिर ल्याउन कला शिक्षण र प्रदर्शनीले सहयोग गर्ने डंगोलको भनाई थियो ।
पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखेले विद्यार्थीहरुको कोरेको चित्रकला प्रदर्शनी विशेष महत्व रहेको बताउनुभयो । विद्यार्थीहरुले संग्रहालयमा चित्रकला प्रदर्शनीसँगै अन्य धेरै विषय सिक्न सक्ने स्थान रहकोले संग्रहालय शिक्षा आवश्यक रहेको लाखेको भनाई थियो ।
योङ पिकासोका निर्देशक अजय देशारले विद्यार्थीहरुले व्यावसायिक कलाकार बन्ने दिशामा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । बालकलाकारले पछि आफ्नो ग्रुप एक्जिविसनले बायोडाटा बलियो बनाउन सक्ने देशारले जानकारी दिनुभयो ।

उद्घाटन समारोहपश्चात् प्रदर्शनीको अवलोकन गर्दै महानगरकी उपप्रमुख डंगोलले कतिपय चित्रहरु व्यावसायिक चित्रकारले कोरेको जस्तो देखिएको बताउनुभयो । कलाकार किरण मानन्धरले चित्रहरु अवलोकन गर्दै नेपालको चित्रकलामा भविष्य उज्जल रहेको प्रतिक्रिया दिनुभएको थियो ।
प्रदर्शनीमा दैनिक १ हजारभन्दा माथि स्वदेशी तथा विदेशीले अवलोकन गरेको योङ पिकासोकी कार्यक्रम संयोजक सितु मास्केले जानकारी दिनुभयो ।