
२२ कार्तिक, ललितपुर ।
नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम बहादुर महर्जनले अमूर्त संस्कृतिले पूर्वीय सभ्यतालाई समृद्ध बनाएको बताउनुभएको छ ।
मूर्त संस्कृतिले विश्वभर चिनारी दिएको सन्दर्भमा अमूर्त संस्कृतिभित्र रहेकोे रीतिरिवाज, संस्कार, बाजागाजा, विभिन्न जात्रा, नाचहरुले ललितपुर क्षेत्र नं २ मा जीवन्त बनाउदा पनि उक्त विषयको प्रचार कम भइरहेकोले यसतर्फ आफुले ध्यान दिने महर्जन बताउनुभएको छ । पश्चिमेली सोचाइभित्र पूर्वीय सभ्यताको अनुशरण गर्ने प्रचलन बढेको हालको प्ररिप्रेक्ष्यमा ललितपुरको अमूर्त सस्कृतिको प्रचार प्रसार आफुले हरसम्भव प्रयास गर्ने जानकारी दिनुभयो ।
राजनीतिसँगै सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय उहाँले निर्वाचनमा नयाँ पुस्ता हस्तकलामा आकर्षित नभएको अवस्थामा उनीहरुलाई सीपमुलक तालिम दिने योजना बनाउनुभएको छ । यस क्षेत्रमा रहेका बहाः, बही, मठमन्दिर, पाटीपौवाहरुको भौतिक तथा सांस्कृतिक संरक्षणका लागि पहल गरिने उहाँले बताउनुभयो ।
नगरका बिभिन्न क्षेत्रमा हिजो जुन पुस्ताले काम गरिरहेको छ त्यो पुस्ताले गर्न नसक्ने भएको र नयाँ पुस्ताले रोज्न नसकेको उम्मेदवार महर्जनलले बताउनुभयो । यूवाहरुलाई सीपमुलक तालिम दिएर रोजगारी सिर्जना गर्न सकिन्छ । उहाँले भन्नुभयो, “यसले गर्दा सांस्कृतिक र हस्तकलामा विकास गर्न सकिन्छ ।”
यस क्षेत्रमा बौद्ध अद्वितिय सम्पदाहरु रहेको र तीनलाई संरक्षण गर्न र प्रचीनकालदेखि उपत्यकामा चलिआएको बुद्ध शिक्षा र बौद्ध अभ्यासको संस्कृतिलाई जर्गेनाका लागि लाग्ने उहाँले मतदातालाई प्रतिबद्धता जनाउनुभएको छ ।
कलाको नगरीको रुपमा रहेको ललितपुर क्षेत्रमा रहको मूर्त संस्कृति संरक्षण र प्रचार तथा अमूर्त संस्कृतिको जर्गेना गरी सभ्यतायुक्त कलाको नगरीका रुपमा रहेको ललितपुरमा हस्तकला पुस्तान्तरण गर्ने र नगरमा रहेका संस्कृतिको जर्गेना गर्ने योजना क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार प्रेम महर्जनको छ ।
महर्जनले अगाडि भन्नुभयो, “रातो मछिन्द्रनाथ तथा मीननाथको जीवन्त सङ्ग्राहलय निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरी पहल गर्न अग्रसर हुनेछु । सांस्कृतिक बाजागाजा, भजन, तुतः नामसंगीति पाठ, पूजाविधि, जात्रापर्वलगायतका मूर्त र अमूर्ति सांस्कृतिक सम्पदा संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा लाग्न प्रतिवद्ध छु ।”
आफू निर्वाचित भएपछि पाटन दरवार क्षेत्रमा जीर्ण अवस्थामा रहेको पुरानो जिल्ला अदालतको भवनलाई पुनःनिर्माण गर्ने उम्मेदवार महर्जनको योजना छ । नगरलाई स्वच्छ, सफा र आकर्षक वतावरण निर्माण गरी देशकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने पनि उहाँको योजना छ ।
यस क्षेत्रका व्यक्तिगत घरहरुका पनि इँटा, ढोका, झ्यालमा कला नमूना भेट्न सकिन्छ । आगामी दिनमा एकीकृत नगर विकासको योजना अघि बढाउँदै यहाँका संस्कृति जीवन्त बनाइराखिने उहाँको योजनामा समाबेस छ ।
मंगलबजार पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ र अझै व्यवस्थित ढङ्गबाट विकास गर्नुपर्ने उम्मेदवार महर्जनको धारणा रहेको छ । मङ्गलबजारमा पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत रहेको छ ।
यहाँ लिच्छिबीकालीन र मल्लकालीन धेरै ऐतिहासिक धरोहर, मन्दिर, दरबार, पाटीपौवा र ढुङ्गेधारा रहेकामा तीनलाई जर्गेना गर्नु प्रमुख दायित्व रहेको उहाँको धारणा छ । त्यस क्षेत्रमा योजनाबद्ध विकासको योजना उहाँले मतदातालाई सुनाउदै आउनुभएको छ ।
सिद्धिपुर, लुभुलगायतका शहरहरुमा छरिएर रहेका सम्पदा संरक्षण गर्नुपर्ने आबश्यकता रहेको महर्जनको धारणा छ । अमूर्त संस्कृतिका रुपमा रहेको रितिरिवाज, संस्कार, संस्कृतिले नेपाललाई विदेशसम्म चिनाएको छ । बाजागाजा र ऐतिहासिक नाच, गीत पनि संरक्षणका लागि लाग्ने उहाँले बताउनुभयो ।
विगतमा दुई पटक वडाअध्यक्षका रुपमा निर्वाचित भएर नागरिकको मन जित्ने गरी काम गरिसक्नुभएका महर्जनले ग्रामीण विकासमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँ राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय हुनुहुन्छ । ज्यापु समाज यलको अध्यक्ष भइसक्नुभएका उहाँ हाल टोल सुधार समिति गुइटोलका अध्यक्ष हुनुहुन्छ ।