माउण्ट ओलिभ स्कुलले जित्यो महालक्ष्मी नगरस्तरीय लोकनृत्य प्रतियोगिता

तेस्रो महालक्ष्मी नगरस्तरीय लोकनृत्य प्रतियोगिता २०७९ मा माउण्ट ओलिभ स्कुल प्रथम भएको छ । महालक्ष्मी नगरपालिकाको आयोजना तथा वेष्ट बिङ विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा छलिया नृत्य प्रस्तुत गरेको माउण्ट ओलिभले प्रथम स्थान प्राप्त गरको हो ।

प्रतियोगितामा सन्थाल नृत्य प्रस्तुत गरेको भ्याली पब्लिक स्कुलले दोस्रो स्थान प्राप्त गरेको छ भने कौडा नृत्य प्रस्तुत गरेको जिनियम नेशनल एकेडेमीले तृतिय स्थान प्राप्त गरेको छ । यसैगरी तामाङ सेलोमा नृत्य प्रस्तुत गरेको नेपाल डनबस्को स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा गम्भिर समुन्द्र सेतु विद्यालयका छात्र दिवश कार्की बेष्ट मेल डान्सर र पवन प्रकृति स्कुलका छात्रा रिया दर्लान वेष्ट फिमेल डान्सर घोषित भइन् । यसैगरी विश्वामित्र गणेश माविले उत्कृष्ट भेषभुषा र पिस प्वाइन्ट एकेडेमीले उत्कृष्ट कोरियोग्राफीको उपाधि प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जन, नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, विभिन्न वडाका वडाअध्यक्षहरुको उपस्थितिमा विजयी प्रतियोगी विद्यालय र विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विजयी विद्यालय तथा विद्यार्थी कलाकारहरुलाई प्रमाणपत्र, मेडल, शिल्ड तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोतिगामा ३० वटा विद्यालयहरु सहभागी भएका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा नृत्य प्रविण साजन श्रेष्ठ तथाह निर्णायकहरुमा नृत्य निर्देशक अञ्जु आले र पेमा लामा रहनुभएको थियो ।