२४ चैत, ललितपुर ।
योङ्ग पिकासोको आयोजनामा पाटन संग्रहालयमा “क्यानभासमा सत्यमोहन बा” चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ । संस्कृतिविद् शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको देहत्यागको अर्धवार्षिकी पुण्यतिथिमा उक्त प्रदर्शनीको आयोजना गरिएको हो ।
प्रदर्शनीमा राखिएका चित्रहरु योङ्ग पिकासोले २०७६ सालमा स्व. जोशीको सताब्दी जन्मोत्सवमा आयोजना गरिएको दोश्रो राष्ट्रिय चित्रकला प्रतियोगितामा करिब ४०० चित्रकारहरुले कोरेका प्रत्यक्ष चित्रहरुमध्ये ४० चित्रलाई प्रदर्शनीमा राखिएको छ ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा गोदावरी नगरपालिकाको बडिखेलका १९ जना बालबालिकाले कोरेका जोशीको मुहारचित्र उघारेर प्रदर्शनी उद्घाटन गरिएको थियो ।
कार्यक्रममा उद्घाटनका लागि प्रयोग गरिएको चित्र कोर्न क्यानेडियन चित्रकार जिनिभिई साभार्डले बालबालिकालाई ४ दिने प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका लागि बडिखेल बचत तथा ऋण सहकारी संस्थाले गरेको समन्वय गरेको सहकारीका अध्यक्ष श्याम प्रसाद आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा चित्र कोर्ने बालबालिकाहरुलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो ।

प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै ललितपुर महानगरकी उपप्रमुख शाक्यले स्व. सत्यमोहन जोशीको अर्धवार्षिक पुण्यतिथिमा गरिएको प्रदर्शनीले स्व. जोशीलाई चित्रमार्फत सम्झिएको बताउनुभयो । जोशीको योगदानकै कारण देशमा भाषा, संस्कृतिको खोज हुनसकेको चर्चा गर्दै देशले महापुरुष गुमाएको भाव ब्यक्त गर्नुभयो ।
साहित्यकार आरसी न्यौपानेले स्व. सत्यमोहन जोशी काठमाडौं उपत्यकाको मात्र नभई समग्र देशको बा बन्नुभएको बताउनुभयो । उहाँले जोशीले बहुसांस्कृतिक, बहुभाषिक देशलाई एक सुत्रमा जोड्न योगदान दिनुभएको विषयमा जोड दिनुभयो ।
पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखेले सत्यमोहन जोशीको योजनामा पाटन संग्रहालयका विभिन्न क्षेत्रलाई व्यवस्थापन गर्न सहयोग पुगेको बताउनुभयो । स्व. जोशीको सम्मानमा प्रदर्शनी आयोजना गर्ने योजनाले जोशीलाई जनमानसमा अझै ताजा राख्ने भाव व्यक्त गर्नुभयो ।

योङ्ग पिकासोकी कार्यक्रम संयोजक सितु मास्केले देशकै सबैभन्दा बढी चित्रकारले एकै व्यक्तिको मुहार चित्र कोरिएको सबैभन्दा ठूलो कार्यक्रममा छनौट गरिएको चित्र प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो । समारोहमा बार्षिक रुपमा दिइदै आएको दश हजार राशीको योङ्ग पिकासो पुरस्कार यस बर्ष त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शान्त धाख्वालाई प्रदान गरिएको थियो ।
७ दिनसम्म चल्ने उक्त प्रदर्शनीलाई करिब ५ हजारले अवलोकन अनुमान गरिएको योङ्ग पिकासोका निर्देशक अजय देशारले जानकारी दिनुभयो । चित्रकला प्रदर्शनी चैत ३० गतेसम्म चल्नेछ ।
