‘द इसेन्स अफ कलर’को चमक

वैशाख २६, ललितपुर ।

कलामा थोरै मात्र चाख राख्ने कुसुम श्रेष्ठ आफ्नो छोरी नोराले कोरेको चित्र हेरेर मख्ख थिइन् । श्रेष्ठले चित्र किन कोर्ने थाहा नभएपनि छोरीको चित्रप्रतिको मोहमा आफु सँगै हिड्ने गरेको बताइन् ।

करिब २ बर्षअघि चित्र कोर्न शुरु गरेकी आयुषा सुनुवार चित्रकलाका लागि अजय सरको सहयोग लिएर आफुलाई अब्बल बनाएको बताउछिन् । सुनुवार भन्छिन, “२ बर्षको अवधि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण हो । यसले मलाई चित्रकार बनाउन सहयोग पुगेको छ ।”

आयुषाजस्तै सातुआकी भवनमा अजय सरसँग चित्रकला प्रशिक्षण लिएका अन्य १३ गरी जम्मा १४ जनाको चित्र प्रदर्शनी सम्पन्न भएको छ । ५ बर्षदेखी १३ बर्षसम्मका बालचित्रकारहरु समावेश गरिएको प्रदर्शनीमा नोराह श्रेष्ठ, कृपा महर्जन, विजेता सिंह, नौरिन श्रेष्ठ, प्रजिना श्रेष्ठ, आकृति मानन्धर, सब्बु महर्जन, आश्रिया देशार, सराहाना गिरी, आध्या शाँ, स्नेहा मल्ल, प्राप्ति कुँवर र आध्या देशारको चित्रहरु प्रदर्शित गरिएको छ ।

योङ पिकासोको आयोजनामा आयोजित उक्त प्रदर्शनीलाई द इसेन्स अफ कलर–२ नाम दिइएको छ । गत मंसिरमा द इसेन्स अफ कलरको सफल आयोजनापश्चात् पिकासोले यसैलाई निरन्तरता दिदैं दोश्रो संस्करण आयोजना गरेको छ । गत बैसाख २३ देखी २५ गतेसम्म पाटन संग्रहालयमा उक्त प्रदर्शनीको आयोजना गरिएको हो ।

सातोआकी इटो स्मृति प्रतिष्ठानको सहकार्यमा संचालित उक्त प्रदर्शनीमा १४ जना बालचित्रकारहरुको ६० वटा चित्रहरु प्रदर्शनी गरिएको थियो ।

ललितकलाको ऐतिहासिक क्षेत्रमा बालचित्रकारहरुको बढ्दो उपस्थितिले नेपाली चित्रकलालाई धनी बनाउने साटोआकीका अध्यक्ष प्रा.डा. बज्रराज शाक्यले बताउनुभयो । योङ पिकासोले बालबालिकालाई केन्द्रमा राखि गरिएको प्रदर्शनीले बाल सिर्जनामा थप निख्खार ल्याउने उहाँको भनाई थियो ।

पाटन संग्रहालयले चित्रकलालाई विशेष ध्यान दिएको पाटन संग्रहालका कार्यकारी निर्देशक सुरेश लाखेले जानकारी दिनुभयो । बर्षमा दर्जनौ चित्रकला प्रदर्शनी हुने गरेकोले कलालाई थप फराकिलो बनाउनेमा संग्राहलयको ध्यान रहेको लाखेले बताउनुभयो ।

प्रदर्शनी अवधीभर ३ हजार स्वदेशी तथा विदेशीले प्रदर्शनी अवलोकन भएको योङ पिकासोका निर्देशक अजय देशारले जानकारी दिनुभयो । देशारका अनुसार १५ वटा चित्र विक्री भएको छ । विक्री भएको चित्रको रकममध्ये ३० प्रतिशत रकम गाउँ गाउँमा कलाको विकासका लागि खर्च गरिने र ७० प्रतिशत चित्रकारहरुलाई हस्तान्तरण गरिनेछ ।