भदौ १६, काठमाडौं।
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले गैर पत्रकारलाई पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम भएको भन्दै नेपाल पत्रकार महासंघप्रति रोश प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले मापदण्डविपरित पत्रकार महासंघले सदस्यता वितरण गर्ने काम गरिएको भन्दै महासंघप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।
शनिवार काठमाडौंमा प्रेस चौतारी नेपाल, बामगती प्रदेश समितिले प्रकाशित गरेको सम्पर्क डायरी सार्वजनिक गर्दै उहाँले पत्रकार महासंघले क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापकजस्ता गैरपत्रकारलाई पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरेको उहाँले बताउनुभयो ।
महासंघको कार्यालयमा तालाबन्दी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत उहाँले दिनुभयो । अध्यक्ष बस्नेतले पत्रकार शुद्धीकरण अभियान अन्तर्गत तयार पारिएको १५ बुँदे मापदण्डविपरित महासंघले वितरण गरेको सदस्यता आफ्नो संगठनलाई स्वीकार्य नहुने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा चौतारी वागमती प्रदेश समितिले दोलखाका विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई क्रियाशील पत्रकारिता पुरस्कार वितरण गर्ने जानकारी गराएको छ । समितिका अध्यक्ष शरद सापकोटाले यस वर्षको उत्कृष्ट जिल्ला पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल रामेछाप जिल्ला कार्य समितिलाई वितरण गर्न लागिएको बताउनुभयो ।