उच्च शिक्षाको अध्ययनमा विचार गर्नुपर्ने विषय

    –शेषकान्त पण्डित

    यतिबेला मुलुकभरका लाखौँ विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) को तयारीमा जुटेका छन् । विद्यार्थीले त परीक्षाको तयारी गरेका छन् नै अभिभावकको समेत यसमा ध्यान जाने गरेको छ । एसईईको तयारीमा विद्यार्थी जुटेका बेला अभिभावकको चासो रहने नै भयो । खासमा अवको केही महिनापछि यी विद्यार्थीको एसईईको परीक्षा उत्तीर्ण हुने मात्र होइन उच्च शिक्षाको अध्ययनको लागि अघि जाने बाटो खुल्नेछ । उच्च शिक्षा अध्ययनको क्रमका कस्तो खालको विषय अध्ययन गर्ने र विद्यालयको छनौट कसरी गर्ने भन्ने कुरा त्यति सजिलो होइन । अध्ययन गर्ने विषय र अध्ययन गर्ने कलेजको छनौँटमा धेरै विद्यार्थीलाई मात्र होइन अभिभावक समेत तनावमा हुने गरेको अध्ययनहरुले देखाएको छ । खासमा यो विषय भनेको एसईईको नतिजा प्रकाशित भएपछि होइन विद्यार्थीले परीक्षाको तयारी गर्दा देखिकै सोच्नु पर्ने विषय हो । आम विद्यार्थी र अभिभावकलाई समेत उच्च शिक्षाको अध्ययनमा कसरी अघि बढ््न सहज हुन्छ भन्ने हिसावमा यो आलेख तयार पारिएको छ ।

    विषयको छनौँट गर्दा विचार पु¥याउनुस् है !

    एसईईको अध्ययन पूरा गरेका विद्यार्थीलाई भावी शैक्षिक यात्राका लागि धेरै विकल्प छन् । विज्ञान, मानविकी व्यवस्थापन, शिक्षाशास्त्र, कानुनका साथै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्अन्तरगत सञ्चालित धेरै शैक्षिक संस्था प्राविधिक शिक्षाका विषय अध्ययन गर्ने अवसर विद्यार्थीलाई छ । विज्ञान सदावहार चलिरहने विषय हो । निकै मिहनेत गर्न सक्ने र भविश्यमा डाक्टर इञ्जिनियर बन्छु भन्ने भित्री सपना पालेका विद्यार्थीलाई यो विषय लिएर अध्ययन गर्नु राम्रो हुन्छ । डाक्टर या इञ्जिनियर हुन नसकेको अवस्थामा पनि अन्य विषयमा लाग्न सक्ने सम्भावना यो विषय लिएर अध्ययन गर्दा खुला नै रहन्छ । तर ए प्लस ल्याउँदैमा विज्ञान नै पढ्ने पर्छ भन्ने सोच राम्रो होइन अभिभावकले पनि यो खालको दवाव दिनुहुँदैन, विद्यार्थी आफैले पनि सोच्नु जरुरी छ शर्मा भन्नुहुन्छ । विषयको छनौँट गर्दा भविष्यमा के बन्ने भन्ने कुराको हेक्का राख्नैपर्छ, । साथै अर्को पक्ष भनेको परिवारको आर्थिक अवस्था हो, विद्यार्थी आफैले कमाउँदै पढ्दै गर्ने सम्भावना नेपालमा छैन । यो अवस्थामा विद्यार्थीलाई पुरैे परिवारले आर्थिक लगानी गर्नुपर्ने हुन्छ । त्यसैले विद्यार्थीले आफना आमाबाबुको आर्थिक अवस्था के कस्तो छ, अध्ययनका लागि कति लगानी गर्न सक्छन् भन्ने कुराको हेक्का राख्नुपर्छ र परिवारले यसमा विचार पु¥याउनै पर्छ । शिक्षाविद् खरेलको दृष्टिकोण केही फरक छ । केही मिहनेती र उत्कृष्ट ग्रेड ल्याउन सफल विद्यार्थीलाई आर्थिक अभावका कारण अध्ययनमा समस्या नपर्ने उहाँको भनाइ छ । खासगरी सरकारी प्रावधानअनुसार निजी विद्यालयले उपलब्ध गराउने तीन प्रतिशत छात्रवृत्तिमा उत्कृष्ट विद्यार्थीले छात्रवृत्ति पाउने सम्भावना रहेको उहाँको भनाइ छ ।

    विज्ञानबाहेक विद्यालय र विश्वविद्यालय तहमा समेत धेरै विद्यार्थीको रोजाईमा परेको विषय व्यवस्थापन हो । शिक्षाका जानकारहरुकाअनुसार ‘ग्लोवली नै स्कोप’ भएको विषय हो व्यवस्थापन । डाक्टर इञ्जिनियर अध्ययन गर्दा धेरै बजेट लाग्ने र उक्त लगानीलाई कुनै हालतमा उठाउनुपर्छ भन्ने सामाजिक मान्यताका कारण समाजमा शिक्षाका नाममा अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै गएको धेरैको बुभाइ छ । अवको दुनियाँ भनेको आर्थिक दुनियाँ व्यापार व्यवसायको हो, तीव्र रुपमा उद्योग धन्दाको स्थापना हुँदा देशको विकासमा टेवा पुग्छ र यसको समग्र व्यवस्थापनमा कमर्शले भूमिका खेल्न सक्छ । यसका साथै आफनै हिसावले उद्योग धन्दाको स्थापना र योग्य उद्यमी बन्न समेत व्यवस्थापनले सिकाउने हुँदा आगामी दिनमा यसको पठनपाठनको महत्व बढेर जाने सम्भानवना छ । हामीले अहिलेसम्म जागिर खाने मात्र जनशक्ति उत्पादन गरेका छौँ, अव आफै केही गर्न सक्ने जनशक्तिको आवश्यकता छ शर्मा भन्नुहुन्छ ।

    व्यवस्थापनबाहेक विद्यार्थी अध्ययन गर्ने अर्को विषय मानविकी हो । बाहिरी संसारमा यो विषयको महत्व अधिक भए पनि नेपालमा यस विषयप्रतिको आर्कषण धेरै वर्षदेखि ओरालो लाग्दै गएको छ । विद्यालय तह विश्वविद्यालयका कक्षामा विद्यार्थीको उपस्थितिले नै यसलाई स्पष्ट गर्छ । तर पनि मानविकीको गिद्रो साखलाई अग्रेजी, समाजशास्त्र मानवशास्त्र मनोविज्ञान पत्रकारिता जस्ता विषयले जोगाएका छन् । समाजलाई बुझ्ने र पछिसम्म मुलुकमा नै बसेर काम गर्ने जनशक्तिको उत्पादन मानविकीले गर्न सक्ने भए पनि हाल यसप्रतिको आर्कषण निकै घटेको छ । जानकारहरुकाअनुसार अध्ययन लगतै जागिर पाउने आशा बढ्दै जादा विद्यार्थी मानविकी पनि कसले पढ्छ भन्ने रुपमा लिन थालेको शिक्षाविद्हरु नै बताउँछन् । तर, यसको राज्य सञ्चालनमा धेरै ठूलो महत्व छ । डा.खरेल भन्नुहुन्छ डाक्टर इन्जिनियर पनि काम नपाएर विदेश भौतारिएका धेरै उदाहरण छन्, कुनै पनि विषयलाई हेर्ने सामाजिक दृष्टिकोण राम्रो र कम राम्रो भन्ने हुँदैन यो विद्यार्थी आफैले बनाउन सक्छ जस्तो उत्कृष्ट विद्यार्थीले विज्ञानबाहेक अन्य रोजेको अवस्थामा त्यस विषयको महत्व त्यसै धेरै हुँदै जान्छ ।

    यसबाहेक पछिल्लो समय गाउँघरमा निकै फस्टाएको विषय हो शिक्षाशास्त्र । खासगरी शिक्षक बन्ने र सरकारी सेवामा समेत आर्कषण रहेका कारण विगत केही वर्ष यता कक्षा ११ र १२ मा मात्र होइन स्नातक र स्नातकोत्तर तहका कक्षामा पनि शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थीको भीडभाड निकै बढेको देखिन्छ । एसईई पूरा गरेको र भविष्यमा शिक्षक बन्न चाहना भएका विद्यार्थीलाई यो छनौँटको एउटा रोजाई हुन सक्छ तर शिक्षाशास्त्र अध्यापन गराउने विद्यालय भने सहरी क्षेत्रमा निकै नै कम छन् ।
    प्राविधिक शिक्षातर्फको आर्कषणः प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले पछिल्लो समय विद्याथीलार्ई धेरै आर्कषित गरेको पाइएको छ । यसअन्तर्गत स्वास्थ्य, इन्जिनियरिङ, कृषि, लगायतका बिषयको अध्ययन गर्न सकिन्छ । कम खर्चमा प्राविधिक शिक्षा लिएर राम्रै जागिर पाउन सकिने सम्भावनालाई परिषद्ले खुला गरेको छ । यसबाहेक दश जोड दुई तहमा कृषि बन, नर्सिङ लगायतका धेरै विषयले पनि विद्यार्थीलाई आर्कषित गरिरहकै छ ।

    विद्यालयको छनौँट कसरी गर्ने ?

    अध्ययन गर्ने विषय जत्तिकै चुनौतीपूर्ण कार्य हो विद्यालयको छनौँट पनि । गाउँ गाउँ तहसम्म एसईईपछिको अध्ययनका लागि यतिबेला विद्यालय खुलिसकेको अवस्था छ भने सहरका त टोले पिच्छे ११ र १२ अध्ययन गर्ने विद्यालय देख्न सकिन्छ । यो अवस्थामा आफूलाई उपयुक्त लागेको विद्यालय छनौँट गरेर अगाडि बढ्नु पर्ने चुनौतीमा विद्यार्थी छन् । अभिभावकको तनाव छदैछ । अध्ययनहरुकाअनुसार कक्षा १० पछि अध्ययन गर्ने विद्यालयको छनौँटमा विद्यार्थीको मुख्य निर्णय हुने गर्दछ । आफना सहपाठीले जे विषय अध्ययन गरेको छ र जुन विद्यालयमा अध्ययन गरेको छ त्यसैलाई आधार मानेर अगाडि बढ्ने प्रवृत्ति विद्यार्थीमा देखिन्छ । यो अवस्थामा जिम्मेवारपूर्ण भूमिका अभिभावकले समेत खेल्नुपर्ने आवश्यकता औल्याइएको छ । शिक्षाविद्हरुको सुझाव के छ भने बाहिरी तामझाम र तगकभडकमा विद्यार्थी पटक्कै लाग्नु हुँदैन ।

    विद्यालयमा पुग्नुस् है एक पटक !

    अर्कोतर्फ विद्यालयको पुस्तालयको अवस्था के कस्तो छ, नियमित पठनपाठनबाहेक अतिरिक्त क्रियाकलापलाई कत्तिको प्राथमिकतामा राखिएको छ, त्यसलाई नजिकबाट नियाल्नै पर्छ । हुचवाका भरमा र बाहिरैबाट नभई अभिभावक र विद्यार्थीले समेत एक पटक आफूले अध्ययन गर्ने योजना बनाएको विद्यालयको स्थलगत भ्रमण गर्नैपर्छ ताकी स्पष्ट रुपमा जानकारी पाउन सकियोस् । विद्यालय आफू बस्ने स्थानबाट कतिको दुरीमा छ भन्ने कुरामा धेरैको ध्यान नजान सक्छ, सकेसम्म र मिलेसम्म पायक पर्ने स्थानमा भएको विद्यालय छनौँट गर्न सके दैनिक आतेजातेमा सुविधा हुने र त्यसले समयका साथै स्रोतसाधनको बचत गर्ने भएकोले त्यसमा विचार पु¥याउन विज्ञहरुको सुझाव छ । साथै विद्यालयले विगतमा कस्तो खालको नतिजा हासिल गरेको छ, त्यसका आधारमा समेत आफूले अध्ययन गर्ने विद्यालयको छनौँट गर्न सकिन्छ । विगतको नतिजासँगै उक्त विद्यालयमा यसभन्दा अगाडि अध्ययन गरेका आफना छरछिमेकका दाजु दिदीहरुको सुझाव अझ धेरै महत्वपूर्ण हुने निश्चित छ । किनभने विद्यालयको वास्तविक अवस्था नतिजा, विद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीले पछि आफनो जीवनमा कत्तिको प्रगति गरेका छन्, त्यसका आधारमा विद्यालयको चयन गर्न विद्यार्थी तथा अभिभावकमा शिक्षा क्षेत्रका अनुभवीहरुको सुझाव रहेको छ ।
    कक्षा १० पछि अध्ययन गर्ने विद्यार्थीको उमेर समूह भनेको १६ १८ वर्ष नै हो । टिनएजरको यो उमेरमा विद्यार्थी आफू पनि सही निर्णय गर्न नसक्ने र अरुले गरेको निर्णय पनि नमान्ने स्वभावका हुन्छ । यो अवस्थामा विद्यार्थीलाई आफनो हिसावले निर्णय गर्न दिने तर सही परामर्शको काम गर्नुपर्छ भन्नुहुन्छ अभिभावक संघका निवर्ततमान अध्यक्ष सुप्रभात भण्डारी ।
    कक्षा १० सम्म त अभिभावकले विद्यालय छानिदिन्छन् पछि अव ११ पछि विद्यार्थी आफैले विद्यालय छान्न थाल्छ, यो अवस्था अलि विचार पु¥याउनु पर्ने बेला हो, उहाँ भन्नुहुन्छ । उत्कृष्ट विद्यालय र विषय चयन गरेर आफनो क्यारियर अगाडि बढाउने र जीवनमा सम्प्रने र विग्रने भन्ने बेलाको निर्णय गर्ने बेला हो यो । विद्यार्थीको जीवनको टर्र्निङ प्वाइन्ट नै हो यो । त्यसैले यसमा विचार पु¥याउनै पर्छ ।
    यसका साथै यस वर्षको एसईई तहको परीक्षा पूरा गरेका विद्यार्थीले विचार गर्नुपर्ने कुरा छात्रवृत्तिको पनि हो । कक्षा ११ अध्यापन गराउने विद्यालय हुन् या प्राविधिक तथा गैरप्राविधिक जुनसुकै विषयको अध्यापनमा पनि संस्थाको आफनो नियमअनुसार निश्चित प्रतिशत छात्रवृत्ति दिनैपर्ने व्यवस्था गरिएको छ । उत्कृष्ट विद्यार्थीका साथै गरिव जेहेन्दार, दलित विद्यार्थीले यसबाट लाभान्वित हुन सक्नुपर्ने र यसमा विद्यार्थी र अभिभावक समेत चनाखो हुनुपर्ने शिक्षाविद् डा.खरेल बताउनुहुन्छ ।
    धेरै जसो अभिभावक तथा विद्यार्थीले परीक्षाको नतिजा निस्केपछि हतार हतार कलेज र विद्यार्थी छनौट गर्ने गरेको र पछि धेरै लामो समयसम्म पछुताउने गरेको पाइन्छ । तर शिक्षाको विषय अन्य विषय जस्तो होइन । आफनो बालबालिका कक्षा १० मा अध्ययन गर्दै गरेको र परीक्षाको तयारीमा लागेको बेलादेखि नै विचार गरेर यस विषयमा सोच्नु पर्ने हुन्छ ।