असोज ६, ललितपुर ।
योङ पिकासोको आयोजनामा हुने तेश्रो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी तथा कार्यशालामा सहभागी हुन ११ देशका चित्रकारहरु नेपाल आउने भएका छन् । आगामी असोज १८ देखी २२ गतेसम्म पाटन संग्राहलयमा आयोजना हुने ५ दिने प्रदर्शनीमा सहभागिताका लागि अन्तर्राष्ट्रिय चित्रकारहरु नेपाल आउने भएका हुन् ।
प्रदर्शनीमा सहभागी हुने अन्तर्राष्ट्रिय चित्रकारहरुमा इजरायलबाट हाना बराक एञ्जेल, क्रोएसियाबाट आइरिस पोल्जान, मोक्सिकोबाट जुलियाटा ओर्टेगा र मार्गरिटा चाकोन बाने, जर्मनीबाट मारी तेराउची, नेदल्याण्डबाट ओर्टेगा आल्टामिरानो, जापानका रेको सिमिजु, श्रीलंकाबाट अचला गुणवर्धना र सुदथ अवयशेखरा, फिनल्याण्डबाट टेपो कार्टे, इंल्याण्डबाट क्रिष्टोफोर बोन आदि रहेका छन् ।
यसैगरी प्रदर्शनीमा नेपाली चित्रकारहरु राधेश्याम मुल्मी, गोविन्दलाल सिंह डंगोल, हरीप्रसाद बैद्य, अजय देशारलगायत कलाकारका चित्रहरु प्रदर्शनी गरिने आयोजक संस्था योङ पिकासोकी संयोजक सितु मास्केले जानकारी दिनभयो । यसअघिका अन्तर्राष्ट्रिय प्रदर्शनीहरुमा दक्षिण एसियाका कलाकारहरु सहभागी हुने गरेकोमा यसपटक युरोप, अमेरिका तथा एसियाबाट चित्रकारहरु आउन लागेको मास्केले बताउनुभयो ।
कार्यक्रममा चित्रकारहरुले आफ्नो देशको पोशाक र संस्कृति झल्काउने विषयबाट सांस्कृतिक आदानप्रदान हुने विषयको प्रदर्शनसमेत गर्नेछन् । पाँच दिने प्रदर्शनीसँगै असोज २२ गते चित्रकलासम्बन्धी कार्यशाला हुनेछ ।