माघ २२, तनहुँ ।
तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पठनपाठन गराउँने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउने क्रममा पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्ने योजनालाई कार्यान्वयनमा लैजान लागेको हो ।
गाउँपालिकाका अध्यक्ष सुक्र चुमानका अनुसार गाउँपालिकाका ३ वटा वडामा यो कार्यक्रम अगाडि बढाइने भएको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाई रहेको छ ।
आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा पहिलो चरणमा यो कार्यक्रम लागु गर्ने योजना गाउँपालिकाको रहेको छ । गाउँपालिकाले स्वास्थ्य बीमाका आवश्यक नीतिगत व्यवस्था गरिसकेको छ ।