चित्रकार देशारलाई विद्यार्थीको आग्रह, “सर आजै घर नफर्कनुस न है !”

– बि.एम. आचार्य

“सर आजै घर नफर्कनुस न है ! हामी कक्षामा नियमित पढ्थ्यौं तर पढ्दा यत्ति धेरै रमाइलो कहिले पनि भएको थिएन । आज सर जानुभयो भने भोलि बाट फेरी बोर हुन्छ सर !” कक्षा ७ की यी छात्राको भनाइमा अझ अरु छात्र छात्रा हो मा हो मिलाउँदै थिए । उनीहरुको भाव फरक ढंगले शिक्षा दिने गुरु आफुसँगै भइदियोस् भन्ने चाहना थियो ।

अर्की छात्रा आग्रह गर्दै थिइन्, “सर बरु मेरो घरमा बस्नु न । ममीसँग कुरा गरेर सर बस्न मिल्ने कोठा बनाउछु । जान्छु नभन्नु न सर ।” यत्ति भन्दै गर्दा उनको आँखा रसाइरहेको थियो । यो सुन्दा चित्रकार अजय देशार पनि भावुक थिए । जम्मा २ दिनको विद्यालय बसाइमा यति धेरै आत्मियता थोरै व्यक्तिले मात्र पाउँछन् । ती भाग्यमानी ब्यक्तिमध्ये थिए चित्रकार देशार ।

यो दृश्य हो धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. २ स्थित महाकाली माध्यमिक विद्यालयको । चित्रकार देशारले सामुदायिक विद्यालयका कलाको विकासका लागि निःशुल्क रुपमा तालिम दिंदै आएका छन् । सो क्रममा लाइन्स क्लब अफ काठमाडौं मदरल्याण्ड उमनको प्रस्तावमा देशार उक्त विद्यालयमा पुगेका थिए ।

विद्यालयमा उक्त लाइन्स क्लव, चित्रकार देशार प्रमुख रहेको फाइन आर्टसम्बन्धी प्रशिक्षण दिने संस्था योङ पिकासो तथा सामाजिक संस्था सहयात्राको सहकार्यमा विद्यालयमा अध्ययनरत कक्षा ७ र कक्षा ८ का ८५ जना तथा अन्य विद्यार्थी गरि १०५ जना विद्यार्थीलाई करिब ५० हजार बराबरको शैक्षिक तथा चित्रकला सामग्री वितरण गरिएको थियो । सामग्री वितरणको क्रममा चित्रकारहरु प्रिन्स महर्जन, राजेश महर्जन र बालकिशोर चौधरीले समेत योगदान गरेका थिए । विशेष कारणवशः प्रशिक्षणमा जान नपाएका चित्रकार प्रिन्स र राजेश दुवैले बालबालिकाहरुलाई आफ्नो तर्फबाट केही न केही चित्रकलाका सामग्री उपलब्ध गराएका थिए ।

चित्रकार देशारसँगै प्रशिक्षणमा सहभागी चित्रकार बालकिशोर चौधरीले चित्रका विभिन्न शैलीको विषयमा बालबालिकाहरुलाई प्रशिक्षित गर्दै थिए । काममा पोख्त तर प्रशिक्षणमा कम समय दिने चित्रकार चौधरीको सक्रियता पनि लोभलाग्दो थियो । समापन कार्यक्रममा चित्रकार चौधरीले लाइन्स डिस्ट्रिक ३२५ आई का कोअर्डिनेटर जनार्दन फुयालको मुहारचित्रको स्केच ३ मिनेटमै कोरेर हस्तान्तरणसमेत गरेका थिए ।

प्रशिक्षणको क्रममा १०५ जना विद्यार्थीबाट २५ जना छनौट गरिएको थियो । २५ जनाले कोरेका चित्रहरुमध्ये ९ वटा चित्रहरु समापन कार्यक्रमका अतिथिहरुले खरिद गरि विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए । आफुले कोरेको चित्र विक्री हुँदा विद्यार्थीहरुमा थुप्रै उमंग थियो । विद्यार्थीहरुले आफ्ना प्रशिक्षक गुरु अजय देशारलाई पानीपुरी खुवाएर मात्र घर फिर्ता गर्न तयार भएको दृश्य फरक लाग्थ्यो ।

यी सबै क्रियाकलापमा प्रत्यक्ष रुपमा संलग्न थिए, स्थानीयवासी तथा पूर्व बैंकर किशोर रेग्मी । विद्यालयको छनौटदेखी कार्यक्रममा समन्वयकारी भूमिका उनकै थियो । लाग्थ्यो रेग्मीकाे विद्यार्थी माेह बढ्दै गएकाे छ । उनकी धर्मपत्नी नास्तु रेग्मी लाइन्स क्लब अफ काठमाडौं मदरल्याण्ड उमनको प्रेसिडेन्ट मात्र थिइनन् थाक्रेमा सामाजिक सेवा गर्ने अथाह चाहना उनमा देखिन्थ्यो । त्यही चाहनामध्ये सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई चित्रकलाको जानकारी दिनु पनि एक हो भन्ने नास्तुले बताउँदै थिइन् ।

कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौं मदरल्याण्ड उमनकी चार्टर प्रेसिडेन्ट रमा बाँनिया कार्कीले आफ्नो सम्बोधनमा पटक पटक आफु चित्रकार देशारको विद्यार्थी रहेको बताउँदै थिइन् । उनले लाइन्स क्लवमार्फत् यस्ता विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जाने जानकारी दिइन् ।

विद्यालयका प्रधानाध्यापक धर्मराज अर्याल विद्यालयमा भएको हालसम्मकै फरक कार्यक्रमलाई सफल बनाउँन आफ्ना शिक्षक टिमसहित लागिपरेका थिए । समापन कार्यक्रमको दिन विद्यालय व्यवस्थापन समितिको वैठक हुँदा पनि उक्त वैठकलाई बीचमै रोकेर अर्यालले थाक्रे वडा नं. २ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका टिकाराम तामाङलाई मनाएर कार्यक्रममा सहभागी गराएका थिए । अध्यक्ष तामाङ पनि कार्यक्रमप्रति सकारात्मक हुँदै चित्रकलाको विकास र विस्तारमा आफ्नो केही योगदान रहने प्रतिवद्धता व्यक्त गरिरहेका थिए ।

यी सबैको केन्द्रविन्दु थिए चित्रकार देशार । विद्यालयले देशार थप केही समय प्रशिक्षणमा सहभागी भइदिउन भन्ने चाहना राखेको थियो । विद्यार्थीहरु केही समयमै देशारका फ्यान भएका थिए । उनीहरुले २ दिन भएपनि पठनपाठनमा नयाँपन पाएका थिए । लाइन्स क्लवका सबै जना देशारको प्रस्तुतिमा आकर्षित भएका थिए । चित्रकार देशार पनि विद्यार्थीको मायालाई थाती राखेर गह्रौ मन लिएर आफ्नो टिमसहित काठमाडौं फर्किए । विद्यार्थीको कसिलो घेराको मायामा अझैं बाधिएको देशारको मन अहिलेसम्म पनि उतै छ रे ।