शिक्षा विकास तथा समन्वय इकाई ललितपुरको विज्ञान प्रदर्शनी सम्पन्न

फागुन ४, ललितपुर ।

शिक्षा विकास तथा समन्वय इकाइ ,ललितपुरको आयोजनामा ललितपुरमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा ललितपुर जिल्लामा रहेका ६ वटा स्थानीय तहका १/१ विद्यालयले सहभागिता जनाएका छन् ।

प्रदर्शनीमा बागमती गाउँपालिकाको शारदा शिक्षा सदन माध्यमिक विद्यालयले रक्तसञ्चार, महाङ्कालको बाघभैरव माध्यमिक विद्यालयले हाइवे, कोन्ज्योसोम गाउँपालिकाको गुप्तेश्वर माध्यमिक विद्यालयले भूकम्प प्रतिरोधी घर, महालक्ष्मी नगरपालिकाको वेस्ट विङ माध्यमिक विद्यालयले सोलार सिस्टम र ललितपुर महानगरपालिकाको श्रमिक शान्ति विद्यालयले पोलिनेशनको परियोजना प्रस्तुत गरेको इकाइ प्रमुख निमप्रकाश सिंह राठौरले जानकारी दिनुभयो ।

प्रदर्शनीमा सम्बन्धित विद्यालयले स्थानीय तहको प्रतिनिधित्व गरेका छन् । प्रदर्शनीमा भाग लिएका विद्यालयमध्ये वेष्ट वीङ स्कुल प्रथम भएको छ । यसैगरी वाणिविलास दोस्रो, श्रमिक शान्ति तेस्रो र गुप्तेश्वर विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम हुने विद्यालयले वागमती प्रदेश स्तरमा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

उत्कृष्टलाई पुरस्कार वितरण गर्दै जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले विद्यार्थीका क्षमताले सम्मान पाएको र विद्यालयले यस्ता कार्यमा लाग्न प्रेरित गर्नुभयो । सिकाइलाई वैज्ञानिक बनाउन आग्रह समेत उहाँले गर्नुभयो ।

कार्यक्रम शिक्षा विकास निर्देशनालय हेटौंडा सहयोगमा भएको हो । प्रदर्शनीको करीब एक हजार विद्यार्थीले अवलोकन गरेका थिए ।