एसईईमा ललितपुरबाट १० हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदै

प्रतिनिधिमूलक फाइल तस्वीर

नवराज सञ्जेल (आरजे), चैत्र ८, ललितपुर ।

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ललितपुर जिल्लाबाट १० हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका ७७ वटा सामुदायिक विद्यालय तथा २०८ वटा संस्थागत विद्यालयबाट गरी कुल १० हजार ६२ विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षामा सहभागी हुनेमध्ये सामुदायिकतर्फ २ हजार ९९४ जना र संस्थागततर्फ ७ हजार ६८ जना रहेका छन् जसमध्ये ४ हजार ९९४ छात्रा र ५ हजार ६८ छात्र रहने छन् । सामुदायिकतर्फको संख्या विगतको तुलनामा करिब २०० विद्यार्थी बढेता पनि संस्थागत तर्फको तुलनामा निकै कम देखिएको छ ।

यसबर्ष जिल्ला भित्रका प्राविधिक विद्यालयतर्फ पाँचवटा प्राविधिक विद्यालयले सहभागिता जनाउनेछन् । साथै एसइइ परीक्षामा ललितपुरबाट १३ जना जेलर विद्यार्थी पनि सहभागी हुँदैछन् । ललितपुरबाट संस्कृततर्फका ७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । खुला विद्यालयतर्फ पाटन माध्यमिक विद्यालयबाट ३६ जना र यशोधरा माध्यमिक विद्यालय थैनाबाट २६ जना गरी ६२ जना सहभागी हुँदैछन् ।

विगतमा जस्तै यसवर्ष पनि कालीदेवी माध्यमिक विद्यालय प्युटार, महाङ्काल मावि गोटीखेल र बाघभैरव मावि चौघरेलाई होम सेन्टर दिइएको छ । गतवर्ष ३५ परीक्षा केन्द्र रहेकोमा यस वर्ष ४० केन्द्र पु¥याइएको शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख नीमप्रकाश सिंह राठौरले जानकारी दिनुभयो ।

पछिल्लो समय विद्यालयमा प्राविधिक शिक्षामा जोड दिनुपर्छ भन्ने आवाज उठिरहँदा पनि ललितपुरबाट भने जम्मा ११९ जना विद्यार्थी मात्र प्राविधिक शिक्षातर्फ सहभागी हुँदैछन् । जिल्लाभित्र सिविल इन्जिनियर, कम्प्युटर, बाली विज्ञान, इलेक्ट्रिकमा प्राविधिकतर्फ पढाइ हुने गरेको छ ।

उक्त परीक्षा सम्पन्न गर्नका लागि जिल्लाभित्र ४० केन्द्राध्यक्ष, ६५ जना सहायक केन्द्राध्यक्ष, ९८ परीक्षा सहायक र १९५ जना कार्यालय सहयोगी खटाइएको प्रमुख राठौरले जानकारी दिनुभयो ।