अझै चल्दैछन् विद्यालयमा क्वारेन्टिन

इन्यूज संवाददाता, असोज १३, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाका केही स्थानीय तहले विद्यालयलाई क्वारेन्टिनको रुपमा अझै प्रयोग गर्दै आएका छन् । सरकारले विद्यालयलाई निर्मलीकरण गरेर विद्यालय संचालन गर्न सक्ने गरी तयार रहन निर्देशन दिएपनि अझै विद्यालयलाई कोभिड १९ को लागि क्वारेन्टिन र आइसोलेसनलाई निरन्तरता दिइरहेको पाइएको छ ।

काभ्रेको भुम्लु गाउँपालिकाको प्रकाश माविलाई क्वारेन्टाइन मात्र होइन आवश्यक परेमा आइसोलेसनको रुपमा रुपान्तरण गर्न सकिने भुम्लुकी उपाध्यक्ष कल्पना श्रेष्ठ बताउनुहुन्छ । सरकारले विद्यालयमा क्वारेन्टिन हटाउन निर्देशन दिएपनि अन्य विकल्प नभएकोले विद्यालयलाई नै क्वारेन्टिनको रुपमा प्रयोग गरिएको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

मर्जरमा गएका विभिन्न विद्यालय खाली रहेकोले उक्त विद्यालयहरुको पूर्वाधारमा स्तरोन्नती गरी कोभिडका लागि आइसोलेसन बनाउन सकिने विकल्पमा कार्य भइरहेको श्रेष्ठले बताउनुभयो ।प्रकाश माविको विद्यालय रहेको भवनमा क्वारेन्टिन राखिएपनि भौतिक दुरी र सिफ्टवाइज रुपमा विद्यार्थीलाई प्रकाश क्याम्पसका पठनपाठन गराईरहेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

काभ्रेकै मण्डनदेउपुर नगरपालिकामा समेत विद्यालयमा नै आइसोलेसन सहितको क्वारेन्टिन बनाइएको छ । मण्डनदेउपुरको वडा नम्बर ७ मा रहेको श्री कालीदेवी आधारभूत विद्यालयमा क्वारेन्टिनको रुपमा कोभिड १९ संक्रमणको शंकामा रहेका ५ जना बसिरहेका छन् । ६ जना क्वारेन्टिनमा बसेका मध्ये केही दिनअघि संक्रमणसहित १ जनामा केही स्वास्थ्य समस्या देखिएपछि धुलिखेल अस्पताल पठाइएको उक्त क्वारेन्टिनमा कार्यरत अनमी प्रजिता खरेलले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रनराज न्यौपानेका अनुसार खाली रहेका विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको जानकारी दिनुभयो ।

काभ्रेका सबैजसो गाउँपालिकाका सामुदायिक विद्यालयमा कोरोना कहरकै बीचमा पनि भौतिक रुपमा पठनपाठन शुरु भइसकेको छ ।