खलाँती र मेरा बा (कविता) – विपेन आदिमा

    रचनाकार – विपेन आदिमा

    खालाँती – एउटा छालाको थैलो
    जो लामो फलामे साङ्लोले –
    तानिदै, घोटिदै,कुच्चिदै, फुल्दै,
    आगोको भुङ्ग्रोमा मुख जोतेर
    लागि परिरहेछ मरिमेटेर
    आरानको प्राण भर्न ।

    त्यस्तै,
    मेरा बा – मेरो ईश्वर
    उनी पनि मैलो दौरामा
    आरानको रापमा सेकिदै
    तातो फलामले डामिदै
    तात्तिदै, रापिदै, वाफिदै –
    पिस्सिदै, पिरोलिदै
    दिन रात नभनेर मरिमेट्छन्
    हाम्रो प्राण भर्न ।

    चाउरी परेको छ खलाँती
    अनि उस्तै चाउरिएका छन मेरा बाको गाला
    अङ्गारको कालो,खरानी र फलामको धुलोले
    धुस्रो र फोस्रो भएका छन् मेरा बा
    उस्तै खुइलिदै मैलिएको छ खलाँती  पनि
    घरी खलाँतीलाई हेर्छु – बा जस्तै लाग्छ
    घरी बालाई हेर्छु – बाको अनुहार खलाँती जस्तै लाग्छ
    म आजकाल बढो दुविधामा परेको छु
    खासमा मेरा बा खलाँती झैँ  भएका हुन् कि !
    खलाँती मेरा बा जस्तो भएको हो ?
    जे जे होस् मलाई यी दुबै प्यारो लाग्छ ।

    खलाँती स्याँ स्याँ गरि धकिरहेछ
    उस्तै फोक्सो फुलिरहेछ दमले मेरा बाको पनि
    तैपनी छिन् भर नछोडी बाले खलाँती चलाइरहेछन्
    या भनौं खलाँतीले चलाइरहेछ मेरा बालाई
    बा हुनाले नै बाँचेको छ खलाँती
    खलाँतीले नै बचाएको छ मेरा बाको जीवन
    एक अर्काको साहारा
    खलाँती र मेरा बा ।

    मेरा बा र खलाँती
    यी दुबै मिलेर बचाएका छन् हामिलाई
    खलाँती – आरानको अंश
    भुकम्पले घर भत्किएर
    आमा, बहिनी र भाइ एकै चिहान हुँदा
    कात्रो किन्ने पैसा यसैले जुटायो
    पोहोरको अनिकालमा-
    एक मुठ्ठी चामल र एकमाना पिठो
    यसैले जोहो गरेथ्यो
    तर,
    यसपालीको पहिरोमा परी
    घाइते भएपछि मेरा बा
    थला परेको छ यो खलाँती  पनि
    घरी खलाँतीलाई हेर्छु अनि बालाई हेर्छु
    घरी बालाई हेर्छु अनि खलाँतीलाई हेर्छु
    दुबै थोत्रीएका छन् ,फुङ्ग उडेको,शिथिल -शिथिल
    म थाम्न सक्दिन
    बग्छन अनयासै आँशुका भेल
    कठै ! खलाँती र मेरा बा ।

    क्रान्तिकारीको  झण्डामा अंकित – ‘हँसिया हथौडा’
    ती मेरै बाका रचना थिए
    मेरै बाको आरानमा बनेका थिए –
    कैयौं बन्दुक र हतियारहरु
    जसको सहारामा क्रान्ति गर्ने उन्माद चढेको थियो
    क्रान्तिका अभिलाषीहरुमा ।
    आजकाल, सोचमग्न छु
    होमिएर युद्धमा
    एउटा खुड्किलो फाटेपछि
    बेकामे भनी फालिएको भर्र्याङ्  झैँ म
    सनासो समाउने हात गुमेपछि
    कच्च्याको धार लगाउने आँखाको  तेज मरेपछि
    खै क्यारी प्राण भर्न सक्छु र अब ता !
    खलाँती  र मेरा बाको ।।