बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको लागि बादल, तामाङ र देवकोटाको उम्मेदवारी दर्ता

२४ बैशाख, हेटौंडा ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल, तामाङ र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्। स्वतन्त्र उम्मेदवार देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन्। देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ । त्यस्तै, नेमकिपाका उम्मेदवार तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए। उनका अनुसार आगामी जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ। एउटा स्थानीय तहका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।

यसअघि नेकपा माओवादी केन्द्रका थापा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेपछि आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।