साहित्यकार कृष्ण विहलको उपन्यास तृषाफल विमोचित

कार्तिक १५, ललितपुर ।

साहित्यकार कृष्ण विहलको उपन्यास तृषाफलको विमोचन गरिएको छ । वाङ्मय सताब्दी पुरुष संस्कृतिविद् डा सत्यमोहन जोशीले आफ्नै निवास वकुंवहालमा उपन्यास विमोचन गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शान्त धाख्वाले विमोचित उपन्यास तृषाफलको समिक्षा गर्दै उपन्यासले आधुनिक समाजका नवयुवाको जीवनपद्धति, सम्बन्ध निर्माणको समस्या तथा सांस्कृतिक द्धन्द्धको सामाजिक विश्लेषण गर्न उपन्यास सफल रहेको भाव व्यक्त गर्नुभयो । वर्तमान युवाको मनोवैज्ञानिक दृष्टिकोणलाई केन्द्रित गर्ने र युवालाई मनपर्ने किसिमको आख्यानको प्रयोग र उपन्यासको दुखान्तले युवालाई पश्चिमा शैलीको जीवन मात्र जीवनपद्धति हुन नसक्ने विषयको ज्ञान दिन उपन्यास सफल रहेको धाख्वाको भनाई थियो ।

विमोचनपश्चात् छोटो सम्बोधन गर्दै संस्कृतिविद् जोशीले आफु बस्ने स्थलसँगै संग्रहालयको रुपमा निर्माण गरिएको भवनको प्रयोग गर्न र अध्ययन भएका विषयलाई नजिकबाट हेर्न अपिल गर्नुभयो । नयाँ कला संस्कृतिको विकास भइरहेको विषयसँगै परम्परागत र पुराना इतिहासलाई नजिकबाट अध्ययन गर्न कलाप्रेमी र साहित्यकारहरुलाई आग्रह गर्नुभयो ।

साहित्यकार तथा लेखक कृष्ण विहलले यो भन्दा अघिको पुस्तक संस्कृतिविद् जोशीको हातबाट पुस्तक विमोचन गर्न नपाएकोमा ढिलै भएपनि आफ्नो इच्छा पुरा भएको बताउनुभयो ।

उपन्यासका विषयमा भनाइ राख्दै लेखक विहलले भन्नुभयो, “उपन्यासका कुनै पनि पात्र खुसी छैनन, सबैको मन अशान्त छ र द्धेषमा छ । किनकी उनीहरुले चाहेको जीवन र कुनै पनि काम सोचेजस्तो अगाडि बढेको छैन । उपन्यासमा नदेखिने गरी नारीवादलाई वढावा दिइएको छ ।”

१२ परिच्छेद र २ सय १२ पेजमा संग्रह गरिएको उपन्यासका केही विषयवस्तु सत्यघटनामा आधारित रहेको र केहि विषयवस्तु परिकल्पनामा आधारित रहेको विहलको जानकारी दिनुभयो ।

साहित्यकार कृष्ण विहलको यसअघि ‘मेरो मनमा’ र ‘रुप’ नामक दुइवटा उपन्यासहरु प्रकाशित भइसकेका छन् ।