तामाङ संस्कृति जोगाउन ताम्बा संस्कार तालिम दिइदैं

जेठ २, ललितपुर ।

ललितपुरको बागमती गाउँपालिकाले तामाङ संस्कृति जोगाउन ताम्बा संस्कार तालिमको आयोजना गरेको छ । गाउँपालिकाको वडा नं. ४ प्यूटारमा जेठ १ गतेबाट ३ दिनसम्म चल्ने गरि ताम्बा (म्रावाइसिंगे) प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकाे हो ।

कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले ताम्बाहरूबीचको घमण्ड र एकरूपताको कमीका कारण तामाङ समुदाय पछाडि परेकोले समुदायको एकता र संस्कृतिको संरक्षणका लागि बागमती गाउँपालिकाले ध्यान दिएको बताउनुभयो । उहाँल कार्यक्रममार्फत ताम्बा संस्कार र ज्ञानको आदान–प्रदानले समुदायमा नयाँ ऊर्जा दिने भाव व्यक्त गर्नुभयो ।

बागमती गाउँपालिका वडा नं. ४ का अध्यक्ष राजकुमार लामाले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्य अनुरुप सञ्चालन भएको तामाङ समुदायमा ताम्वा संस्कार तालिम आयोजना गरिएको जानकारी दिनुभयो । तामाङ भाषा र संस्कृतिको पहिचान जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लामाले व्यक्त गर्नुभयो ।

तालिममा संस्कृति संरक्षण, भाषाको प्रवद्र्धन, तथा ताम्बा परम्पराको निरन्तरताबारे गहन छलफल हुने तामाङ संघका पूर्व केन्द्रीय अध्यक्ष केबल बहादुर लामाले जानकारी दिनुभयो । उहाँले तामाङ मात्र नभई खस आर्य समुदायको पनि मौलिक संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा तथा वडा अध्यक्षहरू ज्ञनबहादुर लो, नारायण भोम्जन, होमप्रसाद बजगाईंलगायत तामाङ भाषा र संस्कृति सम्बन्धी जानकारी राख्ने व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

‘ताम्बा’ तामाङ समाजको एउटा जिउँदो परम्परागत संस्था तथा तामाङ समाजको प्रवक्ताको रूपमा र तामाङ इतिहासकारका रूपमा हेरिन्छ । ताम्बाको अहम् भूमिका मूलतः तामाङ विवाहमा प्रदर्शित हुन्छ । उहाँहरुलाई तामाङ जातिको वंश र वंशावली थाहा हुने तथा वंशको उत्पत्ति र इतिहासका उनी ज्ञाता मानिन्छन् ।

कार्यक्रममा सहभागी ताम्बाहरुलाई तामाङ समुदायको मौलिक बाजा डम्फु वितरण गरिने कार्यक्रम रहेको छ ।