बि.एम.आचार्य, वैशाख २, काठमाडौं ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को भर्नासम्बन्धी निर्देशिका २०८२ जारी भएको छ । उक्त निर्देशिकाअनुसार सिटिइभिटीअन्तर्गत सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा पढ्न चाहने विद्यार्थीले यसै वर्षदेखि प्रवेश परीक्षा दिन नपर्ने व्यवस्था गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतामा बसेको सिटिइभिटी बैठकले उक्त निर्देशिका जारी गरेको हो । उक्त व्यवस्थाअनुसार प्रवेश परीक्षा लिने व्यवस्थालाई खारेज भएको गर्दै प्रि डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोटका लागि परीक्षा दिनुनपर्ने व्यवस्था कार्यान्वयनमा जाने भएको हो ।
नयाँ व्यवस्था अनुसार विद्यार्थीले आफूले पढ्न चाहेको शैक्षिक कार्यक्रम र संस्थाको नाम छनोट गरेर अनलाइन आवेदन फाराम भर्नुपर्ने छ । सो आवेदनअनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्राप्ताङ्कका आधारमा योग्यताक्रम निर्धारण गरेर नतिजा प्रकाशन हुनेछ ।
सिटिइभिटि अन्र्तगतका विषय पढ्न छनौटका लागि सामुदायिक विद्यालयका विद्यार्थीलाई केही सहज बनाइएको छ । जसअनुसार सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेमा थप १ अंक तथा संस्थागत विद्यालयबाट एसइई उत्तीर्ण गरेको भए थप ०.८५ अंक प्रदान गरिने व्यवस्था गरिएको छ ।
यसअघि सिटिइभिटी अन्तर्गतका शैक्षिक कार्यक्रममा भर्ना हुन प्रवेश परीक्षाका लागि फाराम भर्नुपर्ने, फाराम भरेको लामो समयपछि मात्रै प्रवेश परीक्षामा सहभागी भएर नतिजा कुर्नुपर्ने बाध्यता रहेको सो हट्ने भएको छ । उक्त व्यवस्था यसै बर्षबाट जारी गर्ने तयारी भएको छ ।
हाल सिटिइभिटी अन्तर्गत नर्सिङ, फार्मेसी, इन्जिनियरिङलगायत डिप्लोमा, प्रि डिप्लोमालगायतका शैक्षिक कार्यक्रममा आवेदनका लागि विषयअनुसार न्यूनतम प्राप्तांक तोकिएको छ ।