भक्तपुर । भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । नागरिकहरुमा असल अध्ययनको बानी र पुस्तक संस्कृतिको उत्थान गर्ने उद्देश्यल आरम्भ नेपालको आयोजनामा तीन दिने पुस्तक प्रदर्शनी हुन लागेको हो ।


प्रदर्शनी कमलविनायक स्थित लामगाल चौरमा आगामी फागुन २, ३ र ४ गते हुने छ । प्रदर्शनीमा साझा प्रकाशन, मञ्जरी प्रकाशन, गुडविल प्रकाशन लगायत १८ वटा प्रकाशकको १८ वटा स्टल राखिने आयोजकले जानकारी दिएको छ ।


आज सम्पन्न भएको एक समारोहमा विभिन्न विद्याका तीन लाख वटा पुस्तकहरु प्रदर्शनीमा राखिने नेपालका अध्यक्ष बालकृष्ण बनमालाले बताए । उनले भने, ‘भक्तपुरमा कमै संख्यामा मात्र पुस्तक प्रकाशनहरु छन् । पुस्तक प्रेमीहरु पुस्तक किन्नको लागि काठमाडौँ पुग्नु पर्ने बाध्यता छ । अव भक्तपुरमा नै पुस्तक उपलब्ध गराउन हामीले यो प्रदर्शनीको आयोजना गरेका हौँ ।’


नेपालका सहसंयोजक दिनेश प्रधानले प्रदर्शनीमा पुस्तक मात्र नभएर नेवारी खाजाका परिकारमध्ये योमरी, मुटुमरी र जुजु धौँ समेत राखिने उल्लेख गरेका छन् । प्रदर्शनीमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सर्वसाधारणको लागि १० रुपैयाँको टिकट काट्नु पर्ने छ ।