ललितपुरको शिक्षामा बजेट आठ प्रतिशत, “एक विद्यालय एक सम्पदा संरक्षण” कार्यक्रम संचालन हुने

असार २८, ललितपुर ।

ललितपुर महानगरले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि कुल बजेटको ८ प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

महानगरपालिकाले एक पत्रकार सम्मेलन आयोजना गर्दै सातौ नगरसभाबाट पारित नीति तथा कार्यक्रम तथा बजेटको विषयमा जानकारी दिदैं उक्त विषय जानकारी दिएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेटमध्ये सामाजिक विकासतर्फ कुल २८ प्रतिशत बजेट विनियोजन भएको छ । जसमध्ये स्वास्थ्य क्षेत्रमा १० प्रतिशत, शिक्षामा क्षेत्रमा ८ प्रतिशत, युवा खेलकुद र रोजगारीतर्फ ५ प्रतिशत तथा लक्षित कार्यक्रम ५ प्रतिशत रहेको छ । प्रमुख महर्जनका अनुसार शिक्षामा ८ प्रतिशत मात्र बजेट भएपनि नीतिगत विषयमार्फत केही बढ्ने छ ।

नीतिगत विषयमध्ये एसइई परीक्षामा जिपिए ४ ल्याउने विद्यार्थी र सामुदायिक विद्यालयलाई दिइने नगद पुरस्कार, सामुदायिक विद्यालयहरुमा पढ्दै रमाउँदै, कमाउँदै कार्यक्रम संचालन आदि रहेको प्रमुख महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा पहिलको होम साइन्सजस्ता विषयसँग जोडिने कार्यक्रम यस अन्तरगत संचालन हुनेछ ।

शिक्षा क्षेत्रमा महानगरले राखेका मुख्य कार्यक्रमहरुमा “एक विद्यालय एक सम्पदा संरक्षण” कार्यक्रम संचालन हुनेछ । जसअनुसार लगनखेलको मच्छिन्द्र स्कुलले पोखरीसँगैको अशोक स्तुपाको सरसफाइ र संरक्षणमा भूमिका खेल्नेजस्ता धेरै विद्यालयलाई यस कार्यक्रममा जोडिनेछ । यसैगरी खाली स्थान रहेका विद्यालयमा हरित विद्यालय कार्यक्रम संचालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आगामी बर्षका लागि महानगरले कुल बजेटमध्ये ८ प्रतिशत आर्थिक विकासतर्फ विनियोजन गरेकोे छ भने पुर्वाधर विकासतर्फ सबैभन्दा बढी ६६ प्रतिशत बजेट विनियोजन भएको महानगरले जनाएकाे छ । यसैगरी विपद् व्यवस्थापनतर्फ ६ प्रतिशत तथा सुशासन तथा अन्यतर्फ ३ प्रतिशत बजेट विनियोजन गरिएको छ । पत्रकार सम्मेलनमा आगामी साउन १५ गतेभित्र नीति तथा कार्यक्रम र बजेट पुस्तक (रेड बुक) तयार गरिने जानकारी दिइएको छ ।

उक्त कार्यक्रममा महानगरकी उपप्रमुख मञ्जली शाक्य, विभिन्न विषयगत समितिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ आदिको उपस्थिति रहेको थियो ।