असार २७, ललितपुर ।
संगठन प्रेस चौतारी नेपाल ललितपुर जिल्ला समितिले स्थापनाको २६ औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार एमाले ललितपुर जिल्ला पार्टी कार्यालय सातदोबाटोमा संगठनका केन्द्रीय अध्यक्ष गणेश पाण्डेसहितका केन्द्रिय पदाधिकारीहरु र पार्टी नेताहरुको उपस्थितिमा शुभकामना आदानप्रदान, सम्मान, स्थापना दिवसको केकदेखी चियापान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय अध्यक्ष गणेश पाण्डेसहित चौतारी ललितपुर जिल्ला समितिका पूर्वअध्यक्षहरु कपिल घिमिरे, डिल्लीराम आचार्य, इश्वरराज ढकाल, निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्य तथा वर्तमान अध्यक्ष नवीन लुईंटेलले संयुक्त रुपमा केक काटेर बार्षिकोत्सवको शुभकामना दिनुभएको थियो ।
यसैगरी वार्षिकोत्सब कार्यक्रममा प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा ललितपुर जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यहरुलाई बधाई पत्रद्वारा सम्मान गरिएको थियो ।

२०५५ साल माघ २२ स्थापना भएको प्रेस चौतारी नेपालको स्थापनापश्चात् करिब डेढ बर्षपछि २०५७ साल असार २७ गते ललितपुर जिल्ला समिति स्थापना गरिएको जिल्ला समितिका संस्थापक अध्यक्ष कपिल घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार तत्कालिन समयमा रामकृष्ण हुँमागाई, बद्रि संजेल आदि संस्थापकको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा स्थापनाकालीन विगतको स्मरण गर्दै घिमिरेले आफू गोरखापत्रको मधुपर्कको सम्पादकको रुपमा कार्यरत रहँदा प्रगतिशील पत्रकारहरुको हकहितको लागि जिल्लामा प्रेस चौतारीको आवश्यकता महसुस गरी संगठन स्थापना गरिएको बताउनुभयो । स्थापना २६ वर्षपछि आफूलाई सम्झिएर विशेष कार्यक्रममा निम्तो गरेकोमा घिमिरेले धन्यवाद ज्ञापन गर्नुभयो ।
तत्कालिन समयमा हालका शिक्षा मन्त्री रघुजी पन्त, तत्कालिन ललितपुर एमालेका प्रचार विभाग प्रमुख रमेश सिलवाल, पूर्व सांसद मिठ्ठाराम शर्मा लगायतको पहलमा ललितपुरमा चौतारी स्थापना भएकोसमेत स्मरण गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले ललितपुरमा पार्टीको प्रचार र हरेक तहका चुनावी अभियानहरुमा प्रेस चौतारीको भूमिका सम्मा गर्न लायक रहेको भन्दै प्रेस चौतारीको काम अनुकरणीय रहेको भनाई व्यक्त गर्नुभयो । उहाँले चौतारीमा आबद्ध पत्रकारहरुलाई निर्भीक र निडर भएर पार्टीमाथि पछिल्लो समय भईरहेको प्रहारको विरुद्धमा कलम चलाउन समेत आग्रह गर्नुभयो ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले २६ वर्ष पूरा गरेकोमा चौतारी ललितपुरलाई बधाई दिंदै जिल्लाको चौतारीमा आबद्ध पत्रकारहरुलाई टिक्ने वातावरण बनाउन पार्टी र जिल्ला प्रचार विभागलाई आग्रह समेत गर्नुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताको बढ्दो अराजकताले को पत्रकार र को कन्टेन्ट क्रिएटर हो भन्ने द्विविधा सिर्जना गरेको भन्दै पाण्डेले पार्टीको आधिकारिक लाईनको पक्षमा कलम चलाउन आग्रह गरे । उहाँले वर्षलाई चौतारीले प्रशिक्षण वर्षको रुपमा मनाईरहेकोले जिल्लामा पनि प्रशिक्षण, क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरुसहित एमाले केन्द्रीय कमिटी सदस्य तथा ललितपुर इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, ३ नं क्षेत्रीय इन्चार्ज बाबुराम थापा, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभाका एमाले प्रमुख सचेतक मधुसूदन पौडेल, सांसद रघुनाथ महर्जन, एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्त कुमारी लामालगायत जिल्ला र प्रदेश तहका नेताहरुको उपस्थिति रहेको थियो ।
