असार २९, काठमाडाैं ।
काठमाडौं महानगरको नीति तथा कार्यक्रम तथा बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
असार २९ गते प्रस्तुत गरिएको महानगरको १७ औं अधिवेशनमा नगर प्रमुख बालेन्द्र शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम तथा उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नुभएको बजेटमा शैक्षिक क्षेत्रमा केही नयाँ तथा केही पुरानै निरन्तरताका रुपमा कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
प्रमुख शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा स्पोर्टस एकेडेमी, डिजिटल कक्षा संचालन गर्ने विषय समेटिएको छ । त्यसैगरी अपागंता, अटिज्म र फरक क्षमता भएका विद्यार्थीका लागि विशेष संरक्षण केन्द्र निर्माणको विषय समेटिएको छ । कार्यक्रमअनुसार स्टिम शिक्षा र उद्यमशीलता क्लब स्थापना गर्ने विषयसमेत समेटिएको छ ।
नीति तथा कार्यक्रम प्रारम्भिक बालविकास केन्द्रलाई प्राथमिकता दिइएको छ । यसैगरी सार्वजनिक पुस्तकालय र खुला अध्ययन केन्द्र स्थापना, पोषण युक्त आहारको नियमित व्यवस्था गरिने जनाइएको छ । यसैगरी हिंसामा परेका र संरक्षण आवश्यक भएका बालबालिकाका निमित्त अस्थायी केन्द्र निर्माण गरिने नीति लिएको छ ।
उक्त कार्यक्रममा चालु आवका अपूरा योजना र नीति कार्यान्वयनलाई निरन्तरता दिने, स्थानीय स्वायत्तता, सुशासन र सेवा प्रवाह सुधार्ने, ई–कोटेसन, सर्भिस रेटिङ सिस्टम जस्ता प्रविधिमैत्री उपाय लागु गर्ने योजना समेटिएको छ ।
मेयर शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बाल अधिकार, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतका लक्षित समूहको सामाजिक सुरक्षा र पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा सुधार ल्याउने, जलवायु संकट समाधान, शुन्य फोहोर सहर अभियान, स्मार्ट सिटी पूर्वाधार विकास र सांस्कृतिक पर्यटन प्रवद्र्धन कार्यक्रम पनि प्रस्ताव गरिएको छ ।
नीति तथा कार्यक्रमपश्चात् उपप्रमुख सुनिता डंगोलले २०८२/८३ का लागि बजेट तथा कार्यक्रम आर्थिक तथा विनियोजन विधेयक प्रस्ताव नगरसभामा पेश गर्नुभएको छ ।
उहाँले आगामी आर्थिक वर्षका लागि जम्मा रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको । प्रस्तुत बजेटअनुसार रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र रु ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने अनुमान गरिएको छ ।
बजेट पेश गर्दै उपप्रमुख डंगोलले भन्नुभयो “अगामी वर्षका लागि संचित कोषमा जम्मा हुने २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँमा काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात समेत गरी २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । साथै नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९८ करोड ७९ लाख रुपैयाँको अनुदान सुनिश्चित भएको छ ।”
गत आर्थिक वर्ष २०८१/८२ का लागि महानगरपालिकाले रु २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो । प्रस्तावित बजेटमा पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् रु १२ अर्ब ८० करोड ८३ लाख १४ हजार, सामाजिक विकासतर्फ २० प्रतिशत अर्थात् रु ५ अर्ब २ करोड २८ लाख ६८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् रु ३ अर्ब १ करोड ३७ लाख २१ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत अर्थात् रु ३ अर्ब ५१ करोड ६० लाख ८ हजार र आर्थिक विकासतर्फ ३ प्रतिशत अर्थात् रु ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।
नीति तथा कार्यक्रम र समीक्षा प्रतिवेदनमाथि छलफल गर्न असार ३२ गते दिउँसो २ बजे अर्को बैठक बोलाइएको छ । उक्त बैठकमा नगरसभा सदस्यहरूले आफ्नो धारणा तथा संशोधन हाल्ने कार्यसूचीमा छ ।